२४ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

निर्माण सम्पन्न नहुँदै उप्कियो सडकको कालोपत्र

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका-१ सशस्त्र प्रहरी क्याम्प नजिकैको सडकको कालोपत्र काम नसकिँदै उप्किन थालेको छ। निर्माणको ठेक्का पाएको भौरव मष्टो निर्माण सेवा दैलेखले गरेको उक्त कालोपत्र सम्पन्न नहुँदै उक्किन थालेको हो।

सशस्त्र प्रहरी क्याम्पदेखि अस्पतालसम्मको साढे एक किलोमिटर सडकको केही भाग केही समय अगाडि मात्रै कालोपत्र गरिएको थियो। निर्माण व्यवसायीले हिउँदमा गर्नुपर्ने काम असारमा हिलो माटोमाथि नै कालोपत्र गरेकाले उप्किन थालेको स्थानीय सुमन विष्टले बताए।

कालोपत्र गरिएको धेरै ठाउँमा सतह उप्किएर माटो देखिन थालेको छ। यसले गर्दा सडक प्रयोगकर्ताले निर्माणको गुणस्तर नभएको भन्दै प्रश्नसमेत उठाउन थालेका छन्। कालोपत्र सडकमा सवारी चाप कम हुँदा समेत कालोपत्र उप्किन थालेपछि स्थानीयले आक्रोश पोखेका हुन्।

सडक डिभिजन कार्यालय जुम्लाले २०८१/८२ मा भौरव मष्टो निर्माण सेवा दैलेखलाई १ करोड २८ लाखमा ठेक्का सम्झौता गरेको थियो। तर कामको म्याद सकिन लाग्दा असारको वर्षायाममा काम सुरु गरेपछि कालोपत्रको सतह उप्किएर हो। निर्माण कम्पनीले अन्तिम समयमा हतारमा काम सक्ने प्रयास गर्दा कमसल सामग्री प्रयोग गरेको र त्यसकै परिणामस्वरूप कालोपत्र उप्किएको स्थानीय माधव पाण्डेले बताए।

कालोपत्रको गुणस्तर परीक्षण नभएको सडक डिभिजन जुम्लाले जनाएको छ। उक्त स्थानमा पुरानो तह हटाएर पुनः कालोपत्र गर्ने, आवश्यक स्थानमा आधार तह सुधार गर्ने तथा प्राविधिक मापदण्ड पूरा गराएर मात्र सडकको भुक्तानी हुने सडक डिभिजन जुम्लाका इन्जिनियर सौरभकुमार सिंहले जानकारी दिए।

कालोपत्र सडकको भुक्तानी रोकिएको र निर्माण कम्पनी काम समेत सम्पन्न नगरेको उनको भनाइ छ। भौरव मष्टो निर्माण सेवाका प्रतिनिधि शोभा शाहीले कामगर्न बाँकी रहेको जनाएकी छिन्। उनले असार १८ गतेबाट कालोपत्रको काम सुरु गरेपछि पानी परेर कालोपत्रको काममा समस्या आएको बताइन्। उनले थप काम पानी रोकिए पछि तत्काल सुरु गर्ने बताइन्।

प्रकाशित: २४ श्रावण २०८३ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App