२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

चाडपर्वमा जोखिमपूर्ण यात्रा

दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउने क्रम बढेको छ। 

सदरमुकामसम्म यात्रुवाहक गाडी सहजै पाइए पनि त्यहाँबाट गाउँ जाने निजी नम्बर प्लेटका गाडीमा क्षमताभन्दा दोब्बरसम्म यात्रु कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यता छ।

सुर्खेत, दैलेख, कालिकोट, सल्यान र जाजरकोटलगायत जिल्लाका गाउँ गाउँमा दसैँ मनाउन जाने यात्रु निजी (भाडाका गाडी) तथा यात्रुवाहक सवारीसाधनमा जोखिम मोलेर यात्रा गरिरहेका छन्।

गाउँसम्म पुग्ने गाडीको अभावमा यात्रुहरू जस्तोसुकै अवस्थामा पनि गाडी चढ्न बाध्य छन्। यही बाध्यतालाई कतिपय सवारी धनीले चाडपर्वमा बढी आम्दानी गर्ने अवसरका रूपमा उपयोग गरिरहेका छन्।

क्षमताभन्दा बढी यात्रु, साँघुरा र कच्ची ग्रामीण सडक तथा जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण कर्णालीमा यस्तो यात्रा दुर्घटनाको जोखिमले भरिएको छ। गाडीभित्र यात्रु खचाखच राख्ने मात्र होइन, सिट क्षमताभन्दा बढी यात्रु चढाउँदा सवारीसाधनको सन्तुलनसमेत बिग्रन सक्ने जोखिम रहन्छ।

चाडपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशभर नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँ ठाउँमा सवारी जाँचलाई तीव्रता दिएका छन्। यात्रु कोचाकोच गरेर यात्रा नगर्न ट्राफिक प्रहरीले सचेतना आग्रह समेत गरिरहेको छ।

तर, प्रहरीको चेकजाँचका क्रममा यात्रुहरू आफैँ गाडीबाट झरेर प्रहरीको आँखा छल्ने र जाँच स्थल पार गरेपछि पुनः गाडीमा चढ्ने गरेको पाइएको छ।

गाउँसम्म जाने सवारीसाधन पर्याप्त नहुँदा जोखिम थाहा हुँदाहुँदै पनि यात्रा गर्नुपरेको यात्रुहरूको गुनासो छ। सार्वजनिक सवारीसाधनको पहुँच सीमित भएका ग्रामीण क्षेत्रमा निजी नम्बर प्लेटका गाडी नै यात्रु ओसारपसारको माध्यम बन्ने गरेका छन्। यस्तो अवस्थामा यात्रुको बाध्यता र सवारी धनीको कमाउने प्रवृत्तिबिच सडक सुरक्षाको प्रश्न थप पेचिलो बनेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले ट्राफिक प्रहरीले प्रदेशभर मापसे, लापसे र क्षमताभन्दा बढी यात्रुको चेकजाँचमा कुनै कसुर नराखेको बताए।

उनका अनुसार प्रहरीले ठाउँ ठाउँमा जाँचलाई कडाइ गरिरहेको छ। तर, यात्रु आफैँ सचेत नभएसम्म क्षमताभन्दा बढी यात्रु बोकेर हुने जोखिमपूर्ण यात्रा पूर्ण रूपमा नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ।

रिजाल कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख भएर आएयता सचेतना, कारबाही तथा कडाइमा कुनै कसुर नराखेर ट्राफिक प्रहरीले चेकजाँच बढाइरहे पनि यात्रु र सवारीसाधनले प्रहरीको निगरानी छल्ने गरेको छन्।

विगतका वर्षभन्दा पछिल्लो समय ट्राफिक नियम कार्यान्वयनमा प्रभावकारी भएको पाइएको छ।

चाडपर्वमा यात्रुको चाप बढ्नु स्वाभाविक भए पनि त्यसकै नाममा यात्रुको ज्यान जोखिममा पार्ने गरी सवारी सञ्चालन गर्नु उचित होइन।

ग्रामीण क्षेत्रमा पर्याप्त सवारीसाधनको व्यवस्था गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि निगरानी बढाइए पनि गाउँ पुग्ने अन्य वैकल्पिक माध्यम नहुँदा समस्या उत्पन्न भएको जनाइएको छ। 

प्रकाशित: ३१ आश्विन २०८३ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App