२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

सेती राजमार्गको कैलाली खण्डमा जोखिमपूर्ण यात्रा

सेती राजमार्गको कैलाली खण्डमा जोखिमपूर्ण यात्रा सुरु भएको छ। राजमार्गमा ट्रयाक खुलेसँगै स्थानीयले यात्रा गर्न थालेका छन्।  

पूर्वपश्चिम राजमार्गको बौनियाँदेखी मोहन्याल गाउँपालिकाको खिमडीसम्मको ७२ किलोमिटरसम्म साना सवारी साधन सञ्चालन हुन थालेका छन्। मोहन्याल गाउँपालिकाकै चोसेकाँडासम्म झण्डै ३० किलोमिटरसम्म भने बस सञ्चालन भैरहेको छ। रिभर साइड यातायात प्रालिको एउटा बस दैनिक सञ्चालन गर्दै आएको छ । सो बस बिहान ८ बजे चोसेकाँडाबाट र साँझ ४ बजे बौनियाँबाट सञ्चालन हुने गर्छ ।  

बर्दगोरिया गाउँपालिकाको बौनियाँदेखी मोहन्याल गाउँपालिकाको तल्लापानी झण्डै १५ किलोमिटरसम्म मात्रै बस सञ्चालनका लागि रुट परमिट उपलब्ध छ । प्रालिका अध्यक्ष गणेश वलीले स्थानीयको माग अनुसार चोसेकाँडासम्म बस सञ्चालन गर्नुपरेको बताए ।  

‘रुट परमिट नभएका अन्य ठाउँमा पनि बस सञ्चालन भैरहेका छन’ उनले भने–‘स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर बस सञ्चालन भएको हो ।’

स्थानीय गोविन्द शाहीले बस सञ्चालनले निकै सहज भएको बताए । उनले गतवर्षको हिउँदमा समेत केही दिन बस सञ्चालन भएको जानकारी दिए । हिउँदयाम सुरु भएसँगै बस सेवा पुनः सञ्चालन भएको बताउँदै उनले यो वर्ष कात्तिक २४ गतेदेखि बस सञ्चालन भैरहेको बताए । ‘बस चलेर हामीलाई निकै सहज भएको छ’ उनले भने–‘यसको निरन्तरताका लागि पहल हुनुपर्छ ।’

सो राजमार्गको बौनियाँदेखी चोसेकाँडाहुँदै खिमडीसम्म भने बोलेरो जीप सञ्चालन भैरहेका छन् । स्थानीय शाहीले दैनिक ८÷१० वटा जीप सञ्चालन भैरहेको बताए ।  

ट्रयाक मात्रै खुलेको राजमार्गमा सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन । एकातिर भरखरै ट्रयाक खोलेको सडक र अर्कोतिर बस र जीप दुवैले क्षमता भन्दा बढी यात्रु बोक्दा कुनैपनि बेला दुर्घटना हुने सम्भावना रहेको छ ।  

राजमार्गको बौनियाँदेखी खिमडीसम्म प्रहरीको उपस्थिति छैन । प्रहरीको अनुपस्थितिले पनि सवारी साधनले निर्वाध क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाईएको छ ।  

स्थानीयका अनुसार ती सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्ने मात्रै हैन चर्को भाडा समेत असुल्ने गरेका छन । बोलेरो जीपले बौनियाँदेखी खिमडीसम्म प्रति व्यक्ति ६ सय असुल्ने गरेका छन ।  

मोहन्याल गाउँपालिका वडा नम्बर १ जाडेपानीका एकेन्द्र ओलीले दुई दिन पैदल हिँड्नु भन्दा वाध्य भएर सवारी साधन प्रयोग गर्नुपरेको बताए । ‘हाम्रो यात्रा रहरको हैन वाध्यताको हो । वर्षौ पैदल हिँडेकै हो’ उनले भने–‘अहिले गाडी चलेपछि सबैले चढ्ने नै भए ।’

राजमार्गको कतिपय ठाउँमा सडक निकै साँघुरो, घुमाउरो र हिलाम्मे समेत छ । क्षमता भन्दा बढी यात्रु बोकेका सवारी साधनलाई यस्तो सडकमा गुड्न समस्या हुने गरेको छ । गाडी सञ्चालकले बढी पैसा कमाउने स्वार्थमा दुर्घटनाको जोखिमलाई वेवास्ता गरेर यात्रुको ज्यानसँग खेलवाड गरिरहेको स्थानीय रमेश बोहरा बताउँछन । ‘अहिले नै सबैजना सचेत हुन जरुरी छ’ उनले भने–‘भोलि कुनै दुर्घटना भयो भने पछुताउने बाहेक हामीसँग अन्य विकल्प नहुन सक्छ ।’

स्थानीयलाई गाडी चलेकोमा सहजता महशुस भएको मात्रै छैन उनीहरु कुनै दुर्घटना भएर क्षति व्यहोर्नु पर्ने हो कि भन्ने त्रासमा समेत छन । उनीहरुले यसतर्फ सम्बन्धित पक्षले समयमै ध्यान दिन आग्रह गरेका छन ।  

त्रिदेशीय महत्वको यस राजमार्ग निर्माणको काम अझै कछुवा गतिमा अघि बढिरहेको छ । निर्माण सुरु भएको १६ वर्षमा ट्रयाक खोल्ने काम समेत सकिएको छैन । कैलालीको टीकापुरदेखी बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ ।  

राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ । कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ । दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन ।  

दक्षिण तर्फको २०४ किलोमिटर मध्ये १३६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको भने उता सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटर मध्ये ७६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ ।  

यो राजमार्ग दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनलाई जोड्ने उद्देश्यले निर्माण भैरहेको छ । राजमार्गले सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुनेछ ।  

प्रकाशित: २८ कार्तिक २०८२ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App