बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार आगामी कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म भारी वर्षाको सम्भावना छ। वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा चुरे र पहाडी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
प्रशासनले किसानलाई कात्तिक ११ गते बुधबारभित्र पाकेको धानबाली तथा अन्य कृषि उपज सुरक्षित रूपमा भित्र्याउन अनुरोध गरेको छ। नदी किनार, खोल्सा तथा चुरे फेदीका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र वर्षाको अवधिमा खोला तर्ने, माछा मार्ने तथा दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण काम नगर्न आग्रह गरिएको छ।
त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–काठमाडौं छोटो मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। यात्रा गर्नुपर्ने अवस्था आएमा सडकको अवस्था बुझेर मात्र निस्कन भनिएको छ।
बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई सुरक्षित स्थानमा राख्न र चौपाया तथा महत्त्वपूर्ण कागजातको सुरक्षाका लागि पूर्वतयारी गर्न सूचनामा उल्लेख छ।
जिल्लाका सबै स्थानीय तहलाई विपद् प्रतिकार्य संयन्त्र, स्वयंसेवक तथा उद्धार टोली तयारी अवस्थामा राख्न र जोखिमयुक्त बस्तीका परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई तयारी अवस्थामा राख्न तथा सडक अवरुद्ध भए तत्काल खुलाउन आवश्यक उपकरण तैनाथ गर्न पनि भनिएको छ।
प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायका सूचना पालना गर्न आग्रह गरेका छन्।
आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा बाढीसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
प्रकाशित: १० कार्तिक २०८३ १०:३७ मंगलबार




-600x400.jpg)
