२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

कर्णाली फोर्स गाडी दुर्घटनाको ३ दिन: अझै भेटिएनन् ४ यात्रु, धमिलो पानीले खोजीमा सकस

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बेपत्ता भएका चार जना यात्रुको अवस्था अझै अज्ञात छ।

वर्षायामका कारण कर्णाली नदीमा पानीको बहाव बढ्नु, पानी अत्यधिक धमिलो हुनु र भिरालो भूगोलका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

गएको असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बुलबुले यातायात प्रालिको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनामा ज्यान गुमाएका पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव सडकबाट करिब २ सय मिटर तल भिरमा अड्किएको अवस्थामा फेला परे पनि अन्य चार जना अझै बेपत्ता छन्।

बेपत्ता हुनेहरूमा पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा, रास्कोट नगरपालिका–२ की सिर्जना खड्का, चालक तुलाराम सुवेदी र उनका सहोदर भाइ सहचालक रामप्रसाद सुवेदी रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सबै उपलब्ध स्रोत–साधन परिचालन गरिएको छ।

सशस्त्र प्रहरीको गोताखोर टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट अत्याधुनिक उपकरणसहितको विशेषज्ञ टोलीले दैलेखदेखि सुर्खेतसम्म कर्णाली नदी आसपासका सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ।

लगातारको वर्षाले गर्दा नदीको तीव्र बहाव र अत्यधिक धमिलो पानीका कारण गोताखोरहरूलाई नदीभित्र पसेर खोजी गर्न कठिनाइ भइरहेको छ।

प्रहरीले कर्णाली राजमार्गको साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन नदीको तल्लो तटीय क्षेत्र तथा छिमेकी जिल्लाहरू अछाम, बर्दिया र कैलालीबाट समेत प्रहरी जनशक्ति परिचालन गरिएको डिआईजी सापकोटाले जानकारी दिए।

प्रकाशित: २० असार २०८३ १९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App