१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

बाढीले बगाएको गैँडा कसरा ल्याइने

शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ।

प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को डिभिजन वन कार्यालयको टोलीले गैँडा ‘डार्ट’ गरेर ल्याउन लागेको हो।

उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो।

आज दिउँसो नवलपरासीको लौघारीबाट दुईवटा हात्ती पुगेपछि डार्टको तयारी गरिएको छ। निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार अब डार्ट गरेर गैँडालाई ट्रकमा राखेर ल्याइँदैछ।

झाडीमा रहेकाले उमेर र लिङ्ग पहिचान गर्न नसके पनि टाढाबाट प्राविधिकहरूले गैँडा अन्दाजी पाँच वर्षको पोथी रहेको जनाएका छन्।

गैँडा नारायणी नदीले बगाएर सुस्ता गाउँपालिका–४ मा पुर्याएको हो। नारायणी नदीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो।

अहिलेसम्म नदीले बगाएको गैँडा एउटाको मात्र सूचना आएको भए पनि नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुनसक्ने अनुमान छ।

यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए।

तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो।

चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ।

प्रकाशित: १३ आश्विन २०८३ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App