२०८१ माघ २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) नेपाली सेनाको गोली लागेर मरेको थियो। वन मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले निकुञ्जका कर्मचारीको आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर मकुनाको मृत्यु भएको निष्कर्ष निकालेको थियो। यो घटनामा दुई राउण्ड हवाई फायर र चार राउण्ड गोली चलाइएको उल्लेख गरिएको थियो।
यसैबीच, चैत २६ गते विश्वकै दुर्लभ एक सिँगे गैँडामाथि पनि सेनाले गोली चलाउनु परेको घटना सार्वजनिक भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीका क्रममा गैँडासँग जम्काभेट हुँदा आत्मरक्षाका लागि सेनाले १६ राउण्ड हवाई फायर गरेको थियो। तर अन्ततः आर्मीको गोली लागेर अर्धवयस्क बच्चासहित करिब २४ वर्षीया पोथी गैँडाको घटनास्थलमै मृत्यु भयो।
वन्यजन्तुको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै दुर्लभ वन्यजन्तुको मृत्यु हुनु चिन्ताको विषय बनेको संरक्षणकर्मीहरू बताउँछन्। बाघमारा मध्यवर्ती सामुदायिक वनका निवर्तमान अध्यक्ष जीतबहादुर तामाङले जंगलभित्र सुरक्षाकर्मीको गोली लागेर वन्यजन्तुको मृत्यु हुनु दुःखद भएको बताए। उनले भने, ‘निकुञ्जको कोर एरियामै नेपाली सेनाको गोली लागेर गैँडाको मृत्यु भएको थाहा थिएन। अघिल्लो वर्ष मकुना मारियो, अहिले गैँडा मारिएको छ, यसले संरक्षणमा प्रश्न उठाउन सक्छ।’
तामाङका अनुसार सुरक्षाकर्मीले नै गोली चलाउँदा अमूल्य वन्यजन्तुको संरक्षणमा प्रश्न उठ्ने स्थिति बनेको छ। ‘विगतमा यसरी गोली चलेको सुनेका थिएनौँ, बरु सुरक्षाकर्मीहरूको ज्यान गएका घटना छन्,’ उनले भने, ‘वन्यजन्तुको क्षेत्रमा गएर सिधै गोली हान्नु उपयुक्त हुँदैन।’
बिहीबार श्री नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोस्टमा खटिएका एक सिपाहीमाथि गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको निकुञ्जको दाबी छ। समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण युवा जागरणका अध्यक्ष वसन्त रानाले भने यस्तो अवस्थामा हवाई फायर गरे पनि सिधै लक्ष्य गरेर गोली हान्न नहुने बताए। ‘आत्मरक्षाका लागि गोली चलाए पनि पेटमा हान्नु हुँदैनथ्यो, खुट्टामा हान्न सकिन्थ्यो,’ उनले भने, ‘१६ राउण्ड हवाई फायर हुनु निकै असामान्य घटना हो।’
घटनाका क्रममा गस्तीमा रहेका चार सिपाहीसँग गैँडाको अचानक जम्काभेट भएको थियो। निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापाका अनुसार सिपाहीहरूले भागेर जोगिन प्रयास गरे पनि गैँडाले लगातार लखेटेको थियो। यस क्रममा करिब १० राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि गैँडाले एक सिपाहीलाई आक्रमण गरी लडाएर गम्भीर रूपमा घाइते बनायो।
स्थिति नियन्त्रणमा नआएपछि कमाण्डरले थप चार राउण्ड हवाई फायर गरे, तर पनि गैँडा पछि हटेन। अन्ततः सहकर्मीको ज्यान बचाउन अर्का सिपाहीले थप दुई राउण्ड गोली चलाउँदा गैँडालाई लाग्यो। गोली लागेपछि करिब २४ वर्षीया पोथी गैँडा घटनास्थलमै मरेको थापाले जानकारी दिए। उनका अनुसार गोली पेटभन्दा माथिल्लो भागमा लागेको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तले अत्यावश्यक अवस्थामा बाहेक सुरक्षाकर्मीले गोली नचलाउने बताए। ‘कानुनमै सुरक्षाकर्मीको ज्यान जोखिममा परे गोली चलाउन मिल्ने व्यवस्था छ,’ उनले भने, ‘प्रोटोकल पालना गरेर नै गोली चलाइएको हो।’
उनका अनुसार यस्ता घटना अत्यन्तै दुर्लभ हुन्छन्। नेपाली सेनाले प्रायः आत्मरक्षाका लागि हवाई फायर गर्ने गरेको भए पनि वन्यजन्तुको मृत्यु हुने गरी गोली चलाएको घटना कमै हुने उनले बताए।
संरक्षणकर्मी तामाङले भने सुरक्षाकर्मीलाई वन्यजन्तुको व्यवहारबारे थप जानकारी दिनुपर्ने आवश्यकता औँल्याए। ‘निकुञ्जमा खटाइने सुरक्षाकर्मीलाई यहाँको भौगोलिक अवस्था र वन्यजन्तुको बानीबारे सचेत गराउनु आवश्यक छ,’ उनले भने, ‘जोखिमयुक्त क्षेत्रमा हात्ती प्रयोग गरेर गस्ती गर्न सकिन्छ।’
उनका अनुसार सिमसार र नदीतटीय क्षेत्रमा वन्यजन्तुको घनत्व बढी हुने भएकाले त्यहाँ विशेष सतर्कता आवश्यक हुन्छ। चुरे क्षेत्रमा पैदल गस्ती उपयुक्त भए पनि तराई क्षेत्रमा हात्ती वा सवारीसाधन प्रयोग गर्न सकिने उनले बताए।
निकुञ्जका अनुसार घाइते सिपाहीको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। उनको उपचार वीर अस्पतालमा भइरहेको छ र अवस्था खतरामुक्त रहेको जनाइएको छ।
प्रकाशित: २८ चैत्र २०८२ १९:०२ शनिबार





