१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

बुढानीलकण्ठमा राम्रो काम गर्नेलाई पुरस्कार, गलत गर्नेलाई कारबाही

बुढानीलकण्ठ नगरपालिकाको १२ औँ स्थापना दिवस मनाइएको छ। मंगलबार नगरपालिकाको प्राङ्गण, हात्ती गौडामा भव्य रूपमा सम्पन्न भएको हो।  

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउन काम गरिरहेको बताए। विकास निर्माणका सवालमा स्थानीयले चित्त बुझाउने गरी काम गरिरहेको दाबी उनले गरे।  

विकास निर्माणमा नतिजा दिने निर्माण कम्पनीलाई सम्मान र गलत गर्नेलाई कारबाही गर्ने गरिएको उनले बताए। कालोसूचीमा पर्ने गरी काम नगर्न उनले व्यवसायीलाई सुझाव पनि दिए।  

उनले प्रश्न गरे, ‘७८ सालदेखि सुरु गरेका कतिपय काम अझै सुरु भएको छैन। त्यस्ता निर्माण कम्पनीलाई कारबाही नगरे कसलाई गर्ने?’ राम्रो काम गर्ने कर्मचारी र उपभोक्ता समितिलाई सम्मान गर्ने गरिएको उनले जानकारी दिए। त्यसै गरी उत्कृष्ट करदातालाई पनि प्रोत्साहनका लागि सम्मान गर्ने गरेको उनले बताए।  

नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुद क्षेत्रमा एकपछि अर्को काम गर्दै आएको जानकारी दिए। शिक्षा क्षेत्रको बजेट एक करोडबाट बढाएर ७ करोड हुँदै १३ करोडसम्म पुर्‍याएको उनले बताए। नगरपालिकाले प्रत्येक दिन १० हजार विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको उनले जानकारी दिए।

‘संघ सरकारले ५ कक्षासम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरेको छ। हामीले थपेर १० कक्षासम्मकै विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छौँ। हप्ताको ६ दिनमा ६ प्रकारका फरक-फरक खाजा खुवाउने गरेका छौँ।’ उनले भने।  

सामुदायिक विद्यालयले एसइइमा जिपिए ४ ल्याएमा ५ लाख र विद्यार्थीलाई १ लाख पुरस्कार दिने गरिएको उनले जानकारी दिए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सबै पालिका एकजुट भएर काम गर्नुपर्ने उनको सुझाव छ।  

नगरपालिकाले बनाएको नगर अस्पतालले नागरिकलाई ठुलो राहत दिएको उनले जानकारी दिए। दैनिक ३ सयभन्दा धेरै बिरामीले उपचार सेवा पाइरहेको उनले बताए।  

बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसँग पहल गरिरहेको उनले जानकारी दिए। त्यसै गरी अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउने काममा पनि सक्रिय भएको उनले बताए।  

बृहत्तर बुढानीलकण्ठ बनाउने अभियानअनुसार काम गरिरहेको उनले जानकारी दिए। संघ सरकारले स्थानीय सरकारलाई जति साथ दिनुपर्ने त्यति नदिएको उनले गुनासो गरे। ‘कुनै पनि प्रमुखसँग के छ हालखबर भनेर सोधिएको छैन। जेनजी आन्दोलनपछि के कस्ता समस्या छन् भनेर कसैले चासो राखेको छैन।’ उनले भने।  

उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणाममुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताइन्। नगरपालिकाले शिक्षामा कायापलट गरेको दाबी गर्दै उनले गुणस्तरीय शिक्षाका लागि बुढानीलकण्ठ नै जानुपर्छ भन्ने मान्यता स्थापित भएको दाबी गरिन्।  

१ सय १० वटा कानुन बनाएर न्यायिक समितिले काम गरिरहेको उनले जानकारी दिइन्। जेनजी पुस्ताको माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनले बताइन्।  

प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले नगरको विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले देखाएको प्रगतिप्रति प्रशंसा व्यक्त गरे। आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सरकार सधैं साथमा रहने उनले बताए।  

‘बुढानीलकण्ठको मुहार फेर्ने गरी हामी अघि बढिरहेका छौँ। नागरिकलाई उत्पादनसँग जोड्दै रोजगारी सृजना गर्नुपर्ने छ।’ उनले भने। पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्रलाई अघि बढाउन गुरुयोजना बनाउनुपर्ने उनले बताए।  

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगर कमिटी कार्यवाहक सभापति राधा शाह, नेकपा बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले शुभकामना मन्तव्य व्यक्त गरे।  

कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए भने प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा थिए।  

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायत विशिष्ट अतिथिको उपस्थिति थियो।  

साइकल र्‍यालीमा समन्वय गर्ने संस्थालाई प्रमाणपत्र, करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा विभिन्न संघ-संस्थालाई सम्मान, नृत्यमा सहभागी विद्यालयलाई प्रमाणपत्र वितरण तथा नगरपालिकामा उत्कृष्ट सेवा दिने कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीबाट आकर्षक गजल प्रस्तुति पनि गरिएको थियो।

प्रकाशित: १७ मंसिर २०८२ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App