२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक दुई दशकपछि पुनर्स्थापना

नेपालगन्जको धम्बोझीमा पुनर्स्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक। तस्बिरः अर्जुन/नागरिक

दुई दशकपछि नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ।

जिल्लामा सर्वदलीय र सर्वपक्षीय सहमतिबाट नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझीमा अन्ततः शालिक पुनर्स्थापना गरेको हो। दोस्रो जनआन्दोलन २०६२/०६३ तिर उक्त शालिकमाथि तोडफोड गरिएको थियो।  

उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले जिल्लास्थित सर्वदलीय र सर्वपक्षीय सहमति पश्चात नगर कार्यपालिका (बोर्ड) बैठकबाट निर्णय गरेर स्वर्गीय राजा वीरेन्द्रको पूर्ण कदको शालिक पुनर्स्थापना गरिएको जानकारी दिए।  

शुक्रबार राति क्रेनको सहायताले शालिक राख्ने काम सम्पन्न गरिएको उनले बताए। मध्यरातमा शालिक पुनर्स्थापना गर्ने क्रममा मेयर बिष्टसहित जनप्रतिनिधिहरू, राजावादी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। दिउँसोको समयमा सडकमा मानिसहरूको आवत–जावतका कारण काम गर्न असहज हुने भएकाले रातको समयमा शालिक ठड्याइएको मेयर बिष्टले प्रट्याए।  

‘इतिहासलाई संरक्षण गर्नु नेपालगन्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो, त्यसैले हामीले कार्यपालिका बैठकबाट निर्णय गरेर स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गरेका हौं, शालिकको विधिवत् उद्घाटन साउनमा हुनेछ,’ मेयर बिष्टले नागरिकसँग भने।  

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले ‘१२ वर्षपछि खोला फर्किन्छ’ भनेझै स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गराउन २० वर्ष समय लागेको बताएका छन्। ‘अत्यन्तै प्रिय स्वर्गीय राजाको शालिक स्थापना भएको छ,’ उनले भने। राप्रपाका तत्कालीन महामन्त्री डा. धवलसम्शेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर हुँदा शालिक पुनर्स्थापना गर्ने पटक–पटकको प्रयास बिफल भएको थियो।  

यस्तै जेनजी आन्दोलनका क्रममा २०८२ भदौं २४ गतेका दिन नेपालगन्जमा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु बिकको शालिक तोडफोड गरिएको थियो। उक्त शालिकहरू पनि उपमहानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ।

‘आन्दोलनका नाममा तोडफोड भएका सबै शालिक पुनर्निर्माणको काम भइरहेको छ, हामी सबै शालिक पुनर्निर्माणको काम सम्पन्न गर्दैछौं,’ बिष्टले भने।

प्रकाशित: २० असार २०८३ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App