२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजारसम्म राहत

तस्बिर : रविन चौंलागाईं

भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखा जिल्लाका १५ स्थानीय तहका प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्म राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

मन्त्रिपरिषद्ले भदौ २५ गते गरेको निर्णयअनुसार प्राधिकरणले आइतबार पाँचै जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको जनाएको छ।

प्राधिकरणका अनुसार चार जनासम्म सदस्य भएका प्रभावित परिवारलाई प्रतिपरिवार प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा चार जनापछि प्रत्येक थप सदस्यका लागि प्रतिमहिना दुई हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।

तर यस्तो राहत पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका प्रभावित परिवारले मात्र पाउने छन्। होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबासको व्यवस्थापन गर्न चाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्म बढीमा ६ महिनासम्म राहत रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App