काठमाडौंको महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदैछ।
शनिबार बिहान आफ्नै घरको भान्सा कोठामा आगो लगाएका उनको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको छ।
प्रहरीले तत्कालै उद्धार गरी वीर अस्पताल पुर्याउँदा राउत बोल्न नसक्ने अवस्थामा थिए। राउत आफ्नी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनाको समयमा उनका श्रीमती र छोरा घरमा थिएनन्। परिवारका सदस्य बाहिर रहेका बेला एक्लै भान्सा कोठामा गएर उनले तेल खन्याई आफैंलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले आत्मदाहको प्रयास गर्नुको यकिन कारण भने अहिलेसम्म खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। राउतको आफ्नो छोरासँग केही विषयमा विवाद भने भएको थियो।
प्रकाशित: २७ असार २०८३ १४:१० शनिबार




-600x400.jpg)
