१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा बाढी : स्थानीय वर्षाका कारण नभएको प्रारम्भिक विश्लेषण

रसुवामा आएको ठूलो बाढी स्थानीय क्षेत्रमा भएको वर्षाका कारण नभएको मौसम पूर्वानुमान महाशाखाको प्रारम्भिक विश्लेषणले देखाएको छ। महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा रसुवा क्षेत्रमा ठूलो वर्षा भएको विवरण छैन। 

उनका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भए पनि रसुवाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा मात्रै भएको छ। रसुवाको थामोचेत स्टेसनमा करिब ७ मिलिमिटर वर्षा मापन भएको उनले जानकारी दिए।

पछिल्लो १२ घण्टाको तथ्यांक हेर्दा समेत सिन्धुपाल्चोकमा वर्षा घटेको र रसुवामा थप उल्लेख्य वर्षा नभएको अधिकारीले बताए। यस्तो अवस्थामा रसुवामा यति ठूलो बाढी आउनु स्थानीय वर्षाका कारण नभएको प्रारम्भिक विश्लेषण रहेको उनको भनाइ छ।

उपग्रहबाट प्राप्त तस्बिरको विश्लेषण गर्दा दोलखा, सिन्धुपाल्चोक तथा तिब्बती भूभागमा बाक्लो बादल देखिएको तर रसुवा र आसपासका क्षेत्रमा तुलनात्मक रूपमा कम बादल रहेको अधिकारीले बताए।  

यस आधारमा तिब्बततर्फ कुनै हिमताल विस्फोटन वा बाँध फुट्ने जस्तो घटना भएको र त्यसको प्रभावका रूपमा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। यद्यपि बाढीको वास्तविक कारणबारे थप अध्ययन तथा अनुसन्धान भइरहेको र विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने महाशाखाले जनाएको छ। 

बाढी अहिले रसुवाबाट तल नुवाकोट, धादिङ हुँदै चितवनतर्फ पुगिसकेको भन्दै अधिकारीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। ठूलो नदीमा आएको बाढीका कारण त्यसमा मिसिने साना नदी तथा खोलाको जलसतहसमेत बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि विशेष सावधानी अपनाउन उनले आग्रह गरे। 

यसैबीच, तत्कालको मौसम अवस्था भने उद्धार तथा प्रतिकार्यका लागि केही सहज देखिएको महाशाखाले जनाएको छ। आगामी तीनदेखि चार घण्टासम्म प्रभावित क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना नरहेको र बादलसमेत धेरै बाक्लो नरहेको अधिकारीले बताए।

यसले उद्धार तथा राहत कार्यमा मौसमका कारण तत्काल ठूलो अवरोध नहुने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत प्रतिकार्यमा खटिएका निकायले यही समयलाई उद्धार तथा राहतका लागि उपयोग गर्न सक्ने महाशाखाको भनाइ छ। 

तर आज साँझदेखि राति र भोलिसम्म बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको अधिकारीले बताए। त्यसैले प्रभावित क्षेत्रका नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना निरन्तर पछ्याउन र जोखिमयुक्त नदी तथा खोलानालाको आसपास नजान आग्रह गरिएको छ।  

प्रकाशित: १० भाद्र २०८३ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App