रसुवामा आएको बाढीपछि चीन सरकारले नेपाललाई ५० टन राहत सामग्री उपलब्ध गराएको छ। राहत सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान उक्त विमान काठमाडौं आइपुगेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचार किटलगायत सामग्री छन्।
राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्। नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले उनीहरूलाई पठाइएको दूतावासले जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १०:५४ आइतबार





