१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

यौन शिक्षाको अभाव हुँदा अपराधजन्य घटनामा संलग्नता बढ्दै

नेपालमा किशाोर–किशोरीबिच यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त परामर्श नहुँदा जघन्य अपराधजन्य घटनामा संलग्नता बढ्दै गएको सरोकारवालाले चेतावनी दिएका छन्।

काठमाडौंमा युथ लिड सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ राइट्स एड्भोकेसी नेपाल (योशान) नामक संस्थाले आयोजना गरेको अन्तर्क्रियामा सरोकारवालाले उमेर बढ्दै जाँदा यौन चाहना हुनु स्वाभाविक भए पनि १९ वर्षमुनिका बालबालिकाले यौनजन्य गतिविधिमा संलग्न हुने तथ्य उजागर गरेका छन्। संस्थाकी निर्देशक दुर्गा सापकोटाले विभिन्न जिल्लामा गरिएको अध्ययनले बलात्कारलगायतका घटनामा समान उमेर समूहका किशाोर–किशोरी संलग्न हुने देखाएको बताइन्।

उनका अनुसार सरकारी अध्ययनले पनि १८ वर्षमुनिका ४७ प्रतिशत किशाोर–किशोरी यौनजन्य गतिविधिमा संलग्न छन्। 'देखासिकी गर्ने प्रवृत्तिले आपसी सहमतिमा सम्पर्क भए पनि कानुनी रूपमा अपराध ठहरिने गरेको छ,' उनले भनिन्, 'यसका लागि उचित शिक्षाको आवश्यकता रहेको छ।'  

नेपाल प्रहरीका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ हजारभन्दा बढी जबरजस्ती करणीका घटना दर्ता भएका छन्। तीमध्ये ९१ प्रतिशतमा पीडक चिनेजानेका व्यक्तिहरू रहेका छन्। अधिवक्ता सबिन श्रेष्ठका अनुसार नेपालमा १८ वर्षमुनिको यौनजन्य सम्पर्कलाई कानुनले जबरजस्ती करणी मान्ने व्यवस्था छ। उनले बालविवाह र वैवाहिक बलात्कारसम्बन्धी मुद्दा बढ्दै गएको उल्लेख गर्दै अदालतले वैवाहिक बलात्कारका मुद्दा मात्र दर्ता गर्न आदेश दिएको जानकारी दिए।  

अर्की अधिवक्ता रोशना श्रेष्ठले विभिन्न संस्थाले दिएका सुझाव कार्यान्वयन नहुँदा समस्या गहिरिँदै गएको बताइन्। उनले संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यौन शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइन्।

अध्ययनले विपन्न तथा दलित समुदायका युवा–युवती भावनात्मक रूपमा कमजोर हुँदा पीडित बन्न पुगेको तथ्य पनि देखाएको छ। योसान संस्थाले काठमाडौं, ललितपुर, भक्तपुर, उदयपुर र बर्दिया जिल्लामा प्रारम्भिक अध्ययन गरेको र थप अनुसन्धानको काम सुरु भएको जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App