७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पर्यटकीय आकर्षणको नयाँ गन्तव्य दाङको राजाकोट

दाङको दंगीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ। यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमाल देखिने भएकाले पर्यटक आउन थालेका छन्। त्यति मात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ।

पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दंगीशरण–२ गोल्टाकुरीका प्रकाश डाँगीले बताए। 'यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ,' उनले भने।

राजाकोट दंगीशरण राजाले औलो लाग्दा बस्ने ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए। उनको भनाइअनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ।

गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ। नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकाले यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए।

जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले शनिबार 'हाइकिङ' समेत गरेका थिए। गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए। सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल गर्ने दंगीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए। रासस

प्रकाशित: २ कार्तिक २०८२ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App