अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ।
बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।
अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुग्नुभएका भक्तजन रामजी नेपालले जानकारी दिए।
वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ। दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो। विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो।
विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो।
भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिँदै आइएको छ। रासस
प्रकाशित: २५ कार्तिक २०८३ १७:२७ बुधबार





