हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ।
अहिले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
देशको पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: १७ असार २०८३ ०६:४२ बुधबार





