बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको सम्भावना कायमै रहे पनि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टादेखि काठमाडौंमा वर्षा रोकिएको छ भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर भएर उक्त प्रणाली कोशी प्रदेशतिर सरेको छ।
काठमाडौं र बागमती प्रदेशमा ठूलो पानी पार्ने प्रणाली कमजोर भएकाले काठमाडौं उपत्यकामा वर्षा रोकिएको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन्। साथै यो प्रणाली आज दिउँसोदेखि पूर्ण रूपमा बागमती प्रदेशबाट बाहिरिने सम्भावना रहेको पनि उनको भनाइ छ।
वर्षा गराउने प्रणाली हाल कोशी प्रदेशमा केन्द्रित भएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी मधेश प्रदेशमा पानी पर्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको छ भने पश्चिमी क्षेत्रमा कम असर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा यो प्रणालीको ठूलो असर नपर्ने देखिएको छ। तर वर्षा रोकिए पनि प्रमुख नदीहरूको बाढीको तह खतराको नजिक वा सोभन्दा माथि रहेकाले जोखिम कायमै रहेको विभागको भनाइ रहेको छ।
बागमती नदी, कोशी नदी र कन्काई नदीमा खतराको तह पार हुने अवस्थामा छन् भने मेची नदी खतराको तहमा भए पनि बहाव घट्दो क्रममा छ। नदीहरूको जलस्तर घट्न आज दिनभरि लाग्ने अनुमान गरिएको छ।
प्रकाशित: १९ आश्विन २०८२ ०७:४२ आइतबार





