बर्दियामा वन कार्यालयको निर्णयविरुद्ध स्थानीय स्तरमा विरोध चर्किएको छ। बारबर्दिया नगरपालिका क्षेत्रमा पूर्वाधार निर्माणको विषयलाई लिएर आक्रोशित स्थानीयले वारबर्दिया स्थित सब–डिभिजन वन कार्यालयमा तालाबन्दी गरेका छन् भने राजापुरमा पनि डिभिजन वन कार्यालयविरुद्ध प्रदर्शन भएको छ।
बारबर्दियामा नगरपालिकाले आवश्यक अनुमति नलिई टेन्डरमार्फत पूर्वाधार निर्माण गरेको भन्दै वन कर्मचारीले निर्माणस्थलमा प्रयोग भइरहेको सरिया काटिदिएपछि स्थानीय र जनप्रतिनिधि आक्रोशित बनेका थिए। त्यसलगत्तै आक्रोशित भिडले सब–डिभिजन वन कार्यालय पुगेर तालाबन्दी गरेको हो।
स्थानीयको आरोप अनुसार विकास निर्माणका काममा वन कार्यालयले अनावश्यक हस्तक्षेप गरेको छ, जसका कारण क्षेत्रको विकास प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।
यता डिभिजन वन कार्यालयले राजापुर नगरपालिका अन्तर्गत रहेको छेदिया बस्तीलाई अतिक्रमित क्षेत्र भन्दै हटाउन सूचना जारी गरेपछि स्थानीय बासिन्दा पनि विरोधमा उत्रिएका छन्।
सूचनाप्रति असन्तुष्टि जनाउँदै छेदिया बस्तीका स्थानीयले राजापुर बजार क्षेत्रमा प्रदर्शन गर्दै डिभिजन वन कार्यालयको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। प्रदर्शनकारीले आफूहरू लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको र वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न खोजिएको भन्दै विरोध जनाएका हुन्।
प्रकाशित: ५ असार २०८३ १६:०१ शुक्रबार





