तराई-मधेशमा व्याप्त खडेरी र सुक्खापनप्रति सरकार गम्भीर नभएको भन्दै मधेश कृषि-जल आन्दोलन संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
‘तराई-मधेशको अस्तित्व र अस्मिताका लागि संघर्ष’ भन्ने मूल नाराका साथ प्रदर्शनकारीहरूले सांकेतिक रूपमा धानको बिउ, हलो र उखुसहित उपस्थित भएर सरकारको ध्यानाकर्षण गराएका हुन्।
समितिले सरकारले लामो समयदेखि तराई-मधेशप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाएको आरोप लगाएको छ।
‘चुरे विनाश, अवैज्ञानिक उत्खनन, वन अतिक्रमण र सिँचाइको अभावले आज तराई-मधेश मरुभूमिकरणतर्फ अघि बढ्दैछ,’ समितिद्वारा जारी अपिलमा भनिएको छ, ‘भूमिगत पानीको सतह घटेको छ, कृषियोग्य जमिन बाँझिएको छ, जनता प्यासले तड्पिरहेका छन् तर सरकार मौन छ। यो अवस्था स्वीकार्य छैन, मधेश अब चुप बस्दैन।’
प्रदर्शनका क्रममा समितिले सरकारसमक्ष ७ बुँदे मागपत्र समेत प्रस्तुत गरेको छ। समितिले खडेरीपीडित किसानलाई तत्काल राहत र क्षतिपूर्ति दिन, हरेक वडामा खानेपानीको आपूर्ति सुनिश्चित गर्न तथा सिँचाइ उपकरण र कृषि विद्युतीकरण निःशुल्क गर्न माग गरेको छ।
हेराैं तस्बिरहरु: सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक











प्रकाशित: १६ श्रावण २०८२ २०:१३ शुक्रबार





