चाडपर्वको समयमा बनाउने आकृति भरतपुर महानगरपालिकाले निर्माण गरेको शौचालयमा राखेपछि थारू समुदायले विरोध गरेका छन्। भरतपुर महानगरपालिका वडा नं १० स्थित वीरेन्द्र क्याम्पसअगाडि निर्माण गरिएको शौचालयको भित्तामा थारू समुदायको महत्वपूर्ण संस्कृतिसँग जोडिएको आकृति निर्माण गरेपछि सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको हो।
भरतपुर महानगरले उद्घाटन गर्ने तयारीमा रहेको यो स्मार्ट शौचालय महानगर र वीरेन्द्र बहुमुखी क्याम्पसको बिच भागमा छ। बाटोछेउमै रहेकाले सबैको ध्यान यो शौचालयमा जान्छ, तर पूर्वीचितवनका थारू बुद्धिजीवी कारी चौधरी फेसबुकमा लेख्छन्, ‘यो कसको अवधारणा हो ? जसले यो अवधारणा ल्यायो र जुन संस्थाले यो काम गर्यो, त्यसलाई मेरो तर्फबाट दिसा कुल्चेको खुट्टाले सलाम !!’
म थारू समुदायको एक सदस्य भएकाले एकदमै अपमानित महसुस गरिरहेको छु। मेरो कला र मेरो संस्कृतिबाट शौचालय सिँगार्ने कुकर्मप्रति घोर भत्र्सना गर्दछु। जुन चीजलाई हामी सम्मान गर्छौं, जसको पूजा गर्छौं, त्यसलाई शौचालयमा सिँगारेर के देखाउन खोजिएको हो, यसको जवाफ सिंगो समुदायलाई दिनुपर्छ। हाम्रो छाता संगठनले तुरुन्त एक्सन लिन जरुरी छ।’
थारू समुदायका गायक सञ्जय चौधरीले थारू समुदायको कला, संस्कृति तथा भावनामाथि महानगरपालिकाले ठुलो खेलबाड गरेको बताए। यो विषयको चौतर्फी उठान भएपछि थाकस चितवनका सभापति ललित चौधरीले तत्काल भरतपुर महानगरका प्रमुख, वडाध्यक्ष र सम्बन्धित विभागसँग कुराकानी गरेको बताए। शौचालयको भित्तामा कोरिएका आकृति आफूहरूको महत्वपूर्ण चाडपर्वसँग जोडिएको विषय भएकाले आपत्ति प्रकट गर्दै त्यसलाई सच्याउन आग्रह गरेको बताए। महानगरबाट पनि सकारात्मक प्रतिक्रिया आएको र छिटै सच्याउने तयारी भइरहेको बताए। ‘शौचालयको भित्तामा सजाइएको आकृति हाम्रो तिहारमा घर सजाउने बेला कुँदिने आकृति हो, यसले हाम्रो अपमान भएको महसुस गरी सच्याउन लगाएका छौं’, सभापति चौधरीले भने।
चौतर्फी विरोध भएपछि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेललगायतको टोलीले सोमबार शौचालय निरीक्षण गरेको छ। महानगर प्रमुख चित्रसेन अधिकारीले थारू समुदायको अपमान हुने गरी काम नगरेको भन्दै त्यसलाई तत्काल सच्याउने बताए। महानगरभित्र सार्वजनिक ठाउँमा स्मार्ट शौचालय बनाउने भरतपुर महानगरको नीति छ।
प्रकाशित: २३ मंसिर २०८२ ०९:३९ मंगलबार





