२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको छ। जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गरेका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिए।  

उनले बाँकेलाई स्थानीय बाली र जङ्गली धानको अध्ययन केन्द्रका रूपमा विकास गर्न खोजिएको उल्लेख गर्दै यो धानको अवस्था कसरी घटेको भन्ने विषयमा अध्ययन गरिने बताए। भट्टराइले भने, 'जङ्गली धान मात्रै होइन, रैथाने बालीलाई पनि जोगाउन स्थानीय सरकारको समन्वयमा काम गर्ने प्रयास भइरहेको छ।' यसको अध्ययन/अनुसन्धान गर्न करिब १० वर्ष लाग्ने उनको भनाइ छ।

बैजनाथ गाउँपालिका-४ स्थित सुतैया ताल, डुडुवाका केही क्षेत्र, मानखोला आसपासका क्षेत्र र कोहलपुरका केही भागमा जङ्गली धान पाइने जनाउँदै धान प्रजननविज्ञ डा भट्टराइले त्यसको संरक्षण गरिए पनि उत्पादनमा कमी हुँदा अवस्था सङ्कटमा पर्नसक्ने जोखिम बढेको बताए।  

वैशाखदेखि आफैँ विभिन्न तालतलैया र नदी आसपासका क्षेत्रमा हुर्किने बताउँदै असोजमा एक एक दाना सङ्कलन गरी धानको मूल बीउ जोगाउने प्रयास गरिएको अगुवा कृषक तथा जिन बैंक गाभर भ्यालीका प्रमुख पुरमल बस्नेतले जानकारी दिए। उनले जलवायु परिवर्तनको असर स्थानीय बाली र जङ्गली धानमा परेको उल्लेख गर्दै यस वर्ष विगतमा जस्तो उत्पादन नहुने भएकाले चिन्ता थपिएको बताए।  

'यो धान जति पनि विकास भएका धानका प्रजाती छन् त्यसको मूल बीउ हो। यसलाई जोगाउने दायित्व हामी सबैको हो', उनले भने। बस्नेतले यस वर्ष धेरै वर्षा भएकाले पनि जङ्गली धानको बीउ उत्पादनमा असर परेको जानकारी दिँदै यसमा स्थानीय तहको जागरुकता नभएको बताए। उनका अनुसार यस धानको विस्तृत अध्ययन तथा अनुसन्धानका लागि श्रीलंकाबाट विज्ञ टोली अबको केही दिनमा नै बाँके आउन थालेको छ।  

किसान बस्नेतले ‘धानको वंश’ बचाउन पनि जङ्गली धानको संरक्षणमा जोड दिँदै राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक स्रोत केन्द्र, खुमलटारले बाँके सहितका जिल्लामा जङ्गली धानको संरक्षण र प्रयोगबारे अध्ययन गरिरहेको बताए। खास गरी बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, स्याङ्जालगायतका जिल्लामा सो धान पाउने गरिन्छ।  

बाँकेमा अघिल्लो वर्ष करिब चार बिघा क्षेत्रफलमा देखिएको सो धान अहिले सात कट्ठा जमिन क्षेत्रफलमा मात्रै रहेको छ। बाँकेमा धेरै मात्रामा निवारा रुफिपोगन गरी दुई प्रजातिको जङ्गली धान फेला परेको छ। धेरै क्षेत्रफलमा देखिएको जङ्गली धानको बीउ डिएनए परीक्षण गर्नका लागि केही वर्षअघि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमूना सङ्कलन भएको थियो। 

प्रकाशित: २३ आश्विन २०८३ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App