१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीका कैदीबन्दीले गरे बाढी पीडितलाई सहयोग

गत भदौ १० गते रसुवा आएको विनाशकारी बाढीले नवलपरासीसम्म आउँदा जुन जनधनको क्षती भयो त्यसले देशनै छेदविच्छेद बनायो। यो महाप्रलयले देशविदेशमा रहेका नेपालीहरुको मनमा ठुलै कम्पन पैदा गर्यो।

विपत्ति आउँदा पीडितको पीडा भूगोलले छुट्याउँदैन। दुख जहाँ पुगे पनि त्यसले मानवीय संवेदनालाई छुन्छ। यही संवेदनाको एउटा उदाहरण अर्घाखाँची जिल्लाका कैदबन्दीमा देखिएको छ।

आफुहरु चार भित्ताको कैदमा भएपनि अरुको पिडा उनिहरुलाई सह्य भएन। समाजबाट टाढा, कारागारको चौघेरामा रहेका ९० जना कैदीबन्दीले भोटेकोसी बाढीपीडितका लागि मन खोलेर सहयोग गरेका छन्। उनीहरूले आफूलाई दैनिक रूपमा प्राप्त हुने सिदा खर्चबाट बचाएको रकम संकलन गरेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

उनीहरूले राष्ट्रिय वाणिज्य बैंक अर्घाखाँची शाखामार्फत ७४ हजार ७ सय ३० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। कारागारभित्र असहज जिवन बिताईरहेका कैदबन्दीहरुले आफ्नो आवश्यकता घटाएर अरूको पीडामा मलहम लगाउने प्रयत्न गरेका हुन्। सिमित स्रोतसाधन र आफ्नै आवश्यकताबीच पनि कैदीबन्दीहरूले विपत्तिमा परेका नागरिकलाई आर्थिक सहायता उपलब्ध गराएका हुन्।

आफ्नो भागमा आएको रकमबाट बचत गर्दै बाढीपीडितका लागि सहयोग गर्नु उनीहरूको मानवीय संवेदनाको उदाहरण बनेको छ। भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको खबरले उनीहरूलाई पनि छोयो। पीडित परिवारको दुःखमा आफ्नो तर्फबाट केही योगदान गर्नुपर्छ भन्ने भावनाले रकम संकलन गरिएको हो।

९० जनाको उदारताले ७४ हजार ७ सय ३० रुपैयाँ संकलन भएको हो। रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पुगेसँगै बाढीपीडितका लागि उनीहरूको सहयोग पनि राज्यको राहत अभियानसँग जोडिएको छ।

यो विपत्तिमा ‘हामी पनि पीडितको साथमा छौं’ भन्ने मानवीय सन्देश उनिहरुले प्रवाह गरेका छन्। कैदिबन्दीसंगै अर्घखाँचीबाट स्थानीय सरकार, विभिन्न संघसंस्था, निजी क्षेत्र, शैक्षिक संस्थान, व्यापारी,  मठ मन्दिर र व्यक्तिबाट करिब २ करोड रुपैयाँ बाढीपिडितका लागी संकलन भएको छ।

प्रकाशित: १९ भाद्र २०८३ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App