२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

झुम्का कारागारबाट फरार कैदी झापामा पक्राउ

शान्ति सुरक्षाका हिसाबले संवेदनशील मानिएको सुनसरी झुम्का कारागारबाट तीन दिनअघि फरार एक जना कैदी शनिबार बिहान झापाबाट पक्राउ परेका छन्।  

जबरजस्ती करणी मुद्दामा एक वर्षदेखि सजाय भुक्तान गरिरहेका खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका वडा नं. २ का २८ वर्षीय रूपक पौडेललाई विर्तामोड वडा नं. १० विराट पोखरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी बिहान ६ बजे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको हो। उनलाई झापाबाट सुनसरी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए।  

कैदी पौडेल मंगलबार राति कारागारको १६ फिट उचाइको पर्खाल नाघेर भागेका थिए। उनी कारागारको ब्लक बीमा रहेको मुढा बनाउने उद्योग नजिकैबाट बाँसको साहराले पर्खाल नाघेर भागेका थिए। उनलाई जिल्ला अदालत सुनसरीले १३ वर्ष सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकेर कैद सजाय भोगिरहेका थिए। साथै, उनलाई ३० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय तोकिएको थियो।  

घटना लगत्तै छानबिन गर्नका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।  

झुम्का कारागारबाट २०६९ कार्तिक २३ गते प्रहरी–प्रशासनको लापरबाहीले गर्दा १२ जना कैदी–बन्दी सुरुङ खनेर भागेका थिए। त्यतिबेला कारागारभित्र फर्निचरको सामान बनाउन र ढाका टोपी बनाउनका लागि आवश्यक हतियार दिएको फाइदा उठाएर कैदी–बन्दीले झन्डै ८० फिट लामो सुरुङ खनी ड्युटीमा खटिएका प्रहरीको आँखा छलेर भागेका थिए।

प्रकाशित: ३१ श्रावण २०८२ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App