प्रधानमन्त्री बालेन शाहले भोटेकोसी र त्रिशूली नदीको विनाशकारी बाढीका बीच ज्यानको बाजी लगाएर खोज तथा उद्धारमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको अदम्य साहस र निष्ठाको प्रशंसा गरेका छन्।
बाढीमा आफ्नै ८२ जना सहकर्मी बेपत्ता भएको पीडालाई छातीभित्र दबाएर तीनवटै सुरक्षा निकायले हालसम्म १३ हजार ३ सय ९१ जना नागरिकको सकुशल उद्धार गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्को घडीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देखाएको अद्भुत मानवीय धैर्य र वीरताको उदाहरण प्रस्तुत गरे।
उनले नुवाकोटको विदुर-६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ५२ जना सुरक्षाकर्मीले देखाएको बहादुरीको स्मरणसमेत गरे।
गत भदौ १० गते भोटेकोसीको बाढी उर्लिएर आउँदा कारागारमा ९२३ जना कैदीबन्दी थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित खटिएका ५२ जना सुरक्षाकर्मीले अलिकति पनि हिम्मत नहारी दुईवटा भवनका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सारेर सम्भावित ठूलो मानवीय क्षति टारेका थिए।
त्यसलगत्तै बाढीको लेदोले प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खाल ढाल्दै कैदीबन्दी राखिएका भवनको पहिलो तलासम्म डुबाएको थियो।
त्यही मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीलाई सुरक्षाकर्मीहरूले घाइते हुँदै पुनः नियन्त्रणमा लिएका थिए। कैदीहरूको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले संयमतापूर्वक स्थानीय बासिन्दाको समेत ज्यान रक्षा गरेका थिए।
आज पनि उनीहरू बस्ने ब्यारेक लेदोमै रहेको, पहुँचमार्ग ध्वस्त भएको र खानेपानी प्रणाली बिथोलिए पनि खेतको आलीबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउँदै उच्च मनोबलका साथ ड्युटीमा खटिएका सुरक्षाकर्मीको समर्पण अद्भुत रहेको प्रधानमन्त्रीले बताएका छन्।
उद्धार कार्यकै क्रममा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ गरी कुल ८२ जना सुरक्षाकर्मी बाढीमा परेर अझै सम्पर्कविहीन छन्।
आफ्ना सहकर्मी गुमाएको पीडाबीच पनि सुरक्षाकर्मीहरू दलदलमा पसेर नागरिकको खोजी, शव व्यवस्थापन र शिविरहरूको पहरेदारीमा दिनरात खटिरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा हाल तीनवटै सुरक्षा निकायका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी फिल्डमा परिचालित छन्। जसमध्ये नेपाली सेनाका ९ हजार २ सय ८७ जना खटिएका छन्।
सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरेको छ।
त्यस्तै, रसुवाको धुन्चेमा सहायक रथीको कमान्डमा ‘ट्याक्टिकल हेडक्वार्टर’ र अतिरिक्त एयर बेस सञ्चालन गर्दै सेनाले जलविद्युत् आयोजनाका सुरुङमा खोजतलासको अगुवाइ गरिरहेको छ।
सेनाले नुवाकोटको देवीघाटमा आफ्नै इन्जिनियर परिचालन गरी एक्रो ब्रिज जडान र अन्यत्र बेलीब्रिज निर्माण कार्यसमेत तीव्र पारेको छ।
उता, खोज तथा उद्धारको अग्रपङ्क्तिमा नेपाल प्रहरीका ७ हजार ९ सय ७५ जना जनशक्ति परिचालित छन्। प्रहरीले तालिमप्राप्त कुकुर (डग टिम) मार्फत खोजी कार्यलाई तीव्रता दिनुका साथै घाइतेहरूलाई तत्काल अस्पताल पुर्याउने, शव व्यवस्थापनको नेतृत्व लिने, जोखिम क्षेत्रमा निरन्तर माइकिङ गर्ने र शान्ति सुरक्षा कायम राख्ने काम गरिरहेको छ।
त्यस्तै, सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना जनशक्ति उर्लँदो नदी र कठिन भूगोलमा प्रत्यक्ष उद्धारमा जुटेका छन्।
सशस्त्रले विशेष तालिमप्राप्त गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड, केनाइन टोली र १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरी खोजतलास अघि बढाएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा उपलब्ध गराउनुका साथै सशस्त्रले नेपाल-चीन सीमामा राष्ट्रिय झन्डासमेत फहराएको छ।
प्रधानमन्त्री शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूकै त्यागका कारण आज संकटको बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको बताएका छन्।
उनले फिल्डमा खटिएका सुरक्षाकर्मी, उनीहरूलाई हौसला दिने घरपरिवार, कार्यक्षेत्रमा खटिएका कमान्डरहरू तथा संकट व्यवस्थापनमा सघाउने स्वदेशी तथा विदेशी विज्ञहरूप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।
प्रकाशित: २१ भाद्र २०८३ २१:०८ आइतबार





