त्रिदेशीय महत्वको सेती राजमार्ग समयमै निर्माणका लागि नागरिक स्तरबाट आवाज उठ्न थालेको छ। मोहन्याल गाउँपालिका–४ खिमडीमा राजमार्ग निर्माणमा भैरहेको प्रगति, ढिलाइ र अबको आवश्यकताका विषयमा भएको छलफलले सेती राजमार्ग शिघ्र निर्माणका लागि नागरिक दबाब समूह गठन गरेको छ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रेमबहादुर कुँवरको संयोजकत्वमा समूह गठन गरिएको छ। सो समूहमा राजमार्गले छोएका कैलालीदेखि बझाङका पालिकाका प्रमुख वा प्रतिनिधि सदस्य रहने छन। डा. कुँवर आयोगको सदस्य रहेकै वर्ष आव २०६६/०६७ देखl राजमार्ग निर्माणको काम सुरु भएको थियो।
समूहले राजमार्ग समयमै निर्माण सम्पन्न गराउन जनताको पक्षबाट सरकारी निकायसँग समन्वय गर्ने बताइएको छ। छलफलले आवश्यकता अनुसार स्थानीयस्तरमा समेत थप उपसमिति गठन गर्नसक्ने निर्णय गरेको छ।
सोही छलफलले ट्रयाक खोलेको कैलालीको बर्दगोरियादेखि मोहन्यालको खिमडी र बझाङको खप्तडछान्नादेखि चैनपुरसम्मको सडकमा नियामक निकायको सहमतिमा हलुका सवारी साधन सञ्चालन गर्न माग गरेको छ। त्यस्तै ट्रयाक खोल्न बाँकी रहेका ठाउँमा भैरहेको कामलाई तीव्र दिनुपर्ने, ट्रयाक खोलिसकेका ठाउँमा सडक कालोपत्रे र खार खोला, ठूलीगाड र सेती नदीमा पक्की पुल निर्माण हुनुपर्ने समेत माग गरिएको छ।
सो राजमार्ग निर्माण सुरु भएको १६ वर्षमा समेत ट्रयाक खोल्ने काम सकिएको छैन। कैलालीको टीकापुरदेखि बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ।
राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ। कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ। दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन।
दक्षिण तर्फको २०४ किलोमिटर मध्ये १३६ किलोमिटर र उता सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटर मध्ये ७६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ।
यो राजमार्ग दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनलाई जोड्ने उद्देश्यले निर्माण भैरहेको छ।
प्रकाशित: २८ कार्तिक २०८२ ११:४७ शुक्रबार





