सरोकारवालाले ताप्लेजुङ जिल्लालाई ‘देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला’घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।
मानव अधिकारमञ्च इलामको आयोजना तथा जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा फुङलिङमा सोमवार र मंगलबार चलेको कार्यशालापछि सरोकारवालाले ११ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला घोषणा गर्न स्पष्ट समय सीमा र कार्यतालिकासहितको साझा कार्ययोजना बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
११ बुँदे घोषणापत्रमा पूर्ण छुवाछूतमुक्त वडा बनाउन चाहिने आवश्यक सूचक तयार गरी ती सूचक पूरा भएपछि सुरुमा प्रत्येक पालिकाका कम्तीमा एक वटा वडालाई पूर्ण छुवाछूतमुक्त वडा घोषणा गर्दै बाँकीलाई क्रमशः समेट्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।
ताप्लेजुङका नौ वटै स्थानीय तहहरूले जातीय भेदभाव तथा छुवाछूत उन्मुलनका लागि आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन पारित गरी कार्यान्वयनमा ल्याउने, प्रत्येक स्थानीय तहमा दलित अधिकार समिति एवम् स्थानीय मानव अधिकार डेस्क सञ्चालन गरी दलित समुदायको अधिकार संरक्षण र मानव सह–अस्थित्वका कार्यक्रम सञ्चालन गर्ने भनिएको छ।
स्थानीय तहमा दलित तथा उत्पीडित समुदायको अधिकार संरक्षणका लागि तथ्यपरक, यथार्थपरक समावेशी योजना तर्जुमा गर्दै दलित समुदायको सामाजिक,आर्थिक,स्वास्थ्य,पेसागत र जनसांख्यिक अवस्था झल्किने गरी दलित प्रोफाइलका आधारमा विकासका प्राथमिकता क्रम निर्धारण गरिने,यहाँका सबै स्थानीय तहमा स्थानीय आवश्यकता,वस्तुगत धरातल र समुदायको मागमा आधारित ५ बर्से दलित विकास रणनीतिक योजना तयार गरिने,दलित समुदायको सामाजिक,आर्थिक,राजनीतिक र शैक्षिक रूपान्तरणका लागि परम्परागत टुक्रे कल्याणकारी कार्यक्रमको सट्टा वार्षिक नीति कार्यक्रम र बजेटमा न्यायोचित हिस्सा समर्पित हुने गरी दलित उत्तरदायी बजेटको कानुनी,नीतिगत र संस्थागत बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
दलित समुदायले पुस्तौँदेखि सम्हाल्दै आएका मौलिक ज्ञान,सीप र पेसालाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायीकरण,बजारीकरण,सीपमूलक तालिम,प्रविधि हस्तान्तरण,सहुलियतपूर्ण कर्जा,बीऊपुँजी र अनुदानको प्रबन्ध गर्ने, स्थानीय पाठ्यक्रममा जातीय समानता,सामाजिक सद्भाव,मानव अधिकार र छुवाछूतका विषयहरू समावेश गर्ने,ताप्लेजुङका दुर्गम तथा सीमान्तकृत बस्तीका दलित बालबालिका तथा जेहेन्दार विद्यार्थीका लागि विद्यालय शिक्षा तथा देखि प्राविधिक,व्यावसायिक र उच्च शिक्षासम्मलाई विशेष छात्रवृत्ति र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
जातीय भेदभाव तथा छुवाछूत अन्त्यको अवस्था मापन गर्न पालिका,वडा र बस्तिस्तरमा स्पष्ट,वैज्ञानिक,व्यवहारिक र वस्तुनिष्ठ सूचकहरू तयार गर्ने,यस्ता अभियानलाई पालिकाका केन्द्र र वडा मात्र सीमित नराखी गाउँ,टोल,बस्ती,विद्यालय,मेला पर्व तथा सम्पूर्ण धार्मिक तथा सार्वजनिक स्थलहरू पुग्ने प्रबन्धका लागि वडा स्तरीय सचेतना समूह तयार गरी समुदाय स्तरमा सघन रूपले जागरणका अभियान सञ्चालन गर्ने घोषणा समेत गरिएको छ।
छुवाछूतमुक्त वडा बनाउन तयार गरिएका वस्तुनिष्ठ सूचक पूरा भएपछि सुरु भएको छुवाछूतमुक्त बनाउने अभियानलाई सम्बन्धित पालिकाले पालिकाका सबै वडामा क्रमशः कार्यान्वयन गर्दै पहिले वडा,त्यसपछि पालिका र अन्तिम छुवाछूतमुक्त जिल्ला घोषणा गर्ने गरी आवश्यक कार्यको थालनी गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
घोषणापत्रमा जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलले आफ्ना पार्टी कमिटी,भातृ संगठन,संरचना तथा राजनीतिक र प्रशासनिक निर्णय प्रक्रियामा दलित समुदायको अर्थपूर्ण सहभागिता,समानुपातिक प्रतिनिधित्व र नेतृत्व विकाश सुनिश्चित गर्ने र जातीय विभेद तथा छुवाछूत उन्मुलन अभियानलाई सफल बनाउन कोशी प्रदेश सरकारसँग नीतिगत तालमेल,कानुनी निर्माण,प्राविधिक सहयोग र वित्तीय साझेदारीका लागि विशेष पहल गर्ने तथा जिल्ला समन्वय समिति,प्रदेश सरकार,स्थानीय तह,नागरिक समाज,सञ्चार क्षेत्र र मानव अधिकार मञ्च नेपालबिच नियमित अनुगमन,आवधिक समीक्षा,अन्तर तह संवाद र सहकार्यलाई निरन्तरता दिनेसहितका घोषणा गरिएको छ।
यहाँको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्वु(तत्कालीन नाल्वु गाउँ विकास समिति)लाई २०७२ साल पुस १४ गते ताप्लेजुङकै पहिलो जातीय विभेद तथा छुवाछूतमुक्त गाविस घोषणा गरिएको थियो।
मानव अधिकार मञ्चले मिजेरियो जर्मनीसंगको आर्थिक सहकार्यमा ताप्लेजुङ,पाँचथर,इलाम र झापामा दलित अधिकारमैत्री स्थानीय शासन र जातीय भेदभाव तथा छुवाछूतविरुद्ध पहरेदारी,साझेदारी र खबरदारीका अभियान सञ्चालन गर्दै आएको छ।
कोशी सरकारका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य खगेनसिं हाङगाम,जिसस प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ,आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ,मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ,सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवसहितका सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
प्रकाशित: २३ भाद्र २०८३ १५:४८ मंगलबार


-600x400.jpg)

