गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार कसैको निगाह वा टीका लगाएर नभई जनताबाट दुई तिहाइको भारी जनमत प्राप्त गरेर आएको बताएका छन्।
जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले स्थापित गलत राजनीतिक संस्कारलाई चुनौती दिनु नै आफ्नो मूल उद्देश्य भएको दाबी गरे।
‘हामी त्यही संस्कार परिवर्तन गर्न आएका हौं। तपाईंहरूको संस्कार भएन भनेर हामी आएका हौं,’ मन्त्री गुरुङले भने, ‘हामी लड्न आएका हौं। यत्तिकै हामीलाई टीका लगाएर पठाएको होइन, चुनाव लडेर, जितेर, तपाईंहरूलाई दुई तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो- चेतना भया !
आफ्नो मन्तव्यको क्रममा उनले वर्तमान परिवर्तनको स्वर कुनै व्यक्ति विशेषको मात्र नभई आम नागरिकको भएको सुनाए।
‘आजको यो आवाज बालेन्द्र शाहले बोलेको होइन, आजको यो आवाज रवि लामिछानेले बोलेको होइन,’ उनले थपे, ‘यो आवाज सोबितादेखि लिएर कुनै मन्त्रीहरूले बोलेको पनि होइन। यो आवाज नेपाली जनताको आवाज हो।’
प्रकाशित: २३ भाद्र २०८३ १५:३१ मंगलबार





