१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अष्ट्रेलियामा उपसभामुखबाट पदक पाउने पहिलो नेपाली बने प्रवेश पौडेल

अष्ट्रेलियाको न्युक्यासलमा बसोबास गर्दै आएका प्रवेश पौडेल लगातार दुई पटक सम्मानित भएका छन्। उपसभामुखको हातबाट उक्त पदक प्राप्त गर्ने उनी पहिलो नेपाली बनेका हुन्।  

सन् २०१७ मा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका पौडेलले एकाउन्टिङ र बिजनेस एडमिनिस्ट्रेशन विषयमा स्नातकोत्तर गरेका छन्। लामो समय बैंकिङ, एकाउन्टिङ तथा लोन प्रोसेसरको रूपमा काम गरिरहेका उनी हाल सेभेन फाइनाइन्समा सिनियर क्रेडिट एनलिष्टका रूपमा कार्यरत छन्। साथै, न्युक्यासलस्थित क्लिक कन्सल्टिङमा पनि आवद्ध छन्।  

सेभेन फाइनाइन्स र होम लोन्सले अष्ट्रेलियामा सयौँ परिवारलाई घर खरीदमा सहयोग गरिसकेको बताइन्छ।

पौडेल न्युक्यासल नेपाली समाजका संस्थापक सदस्य पनि हुन्। साथै, उनी हंटर मल्टिकल्चरल कम्युनिटी (HMC) मा तीन वर्षदेखि सक्रिय स्वयंसेवकका रूपमा कार्यरत छन्। करिब ५० वर्ष लामो इतिहास बोकेको HMC को बोर्डमा निर्वाचित हुने उनी पहिलो नेपाली पनि बनेका छन्। HMC मा करिब ७० देशका प्रतिनिधि तथा नौ जना बोर्ड सदस्य रहने व्यवस्था छ। 

पौडेल हरेक हप्ता बिहीबार हंटर मल्टिकल्चरल सेन्टर पुगेर वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई स्थानीय स्थान घुमाउने, सहायता गर्ने तथा सम्पूर्ण दिन स्वयंसेवा गर्ने गर्दछन्। उनी बिहानैदेखि सुरु हुने उक्त कार्यक्रममा सीट बेल्ट लगाइदिने, बस चढाउने–उतार्ने, घुमाउने र लन्चमा सहयोग गर्ने कार्यमा सक्रिय देखिन्छन्। "समुदायका लागि हप्तामा एक दिन समर्पित गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ," पौडेल भन्छन्।  

उनी न्युक्यासल क्षेत्रका सक्रिय मल्टिकल्चरल स्वयंसेवक मात्र नभई उद्यमशील युवाका रूपमा पनि पहिचान बनाउँदै आएका छन्। राज्य तथा संघीय सरकार तथा अन्य संस्थाको सहयोगमा सञ्चालन हुने HMC ले युवा, आप्रवासी, शरणार्थी तथा विविध समुदायका लागि महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।  

पौडेललाई समुदाय–केन्द्रित नेतृत्व, निरन्तर स्वयंसेवा र उद्यमशीलताको पहिचानस्वरूप उपसभामुखबाट प्रदान गरिएको सम्मानले नेपाली समुदायलाई गर्व अनुभूति गराएको छ।

प्रकाशित: ५ मंसिर २०८२ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App