१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘टिपिएस’ विधिबाट आलुखेती

शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेती गर्ने किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस विधिबाट आलुखेती गरेका छन्। उनले आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर रोपेका छन्।

चौधरीका अनुसार टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएको उनले बताए। उनले भने, ‘पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ। यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ।’

एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको पहिलो अनुभव हो। आधुनिक आलु उत्पादन प्रविधि प्रयोग गरेर बीउ उत्पादनको लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाएको उनले बताए।

हाल उनले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोपेका छन्। आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। टिपिएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उनको अपेक्षा छ। चौधरीले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आएका छन्। 

सागसब्जी उत्पादनबाट उनले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। उनले भने, ‘टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु। यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिक रूपमा आलुखेती गर्ने किसानलाई उपलब्ध गराउने योजना छ।’

पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उनले बताए। यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उनको उद्देश्य छ। बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर उनले यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न भएका छन्। रासस

प्रकाशित: १३ मंसिर २०८२ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App