२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

पब्जी खेलाडी ‘सिआर ७ होर’ लाई प्रहरीले भन्यो- हेडसटबाट बच्ने हेल्मेट रोडमा पनि चाहिन्छ

नेपालका चर्चित पब्जी स्ट्रिमर ‘CR7 horaa’ उपनामले चिनिने मोरङका सन्जन गौतमलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

हेलमेट नलगाई स्कुटर चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो।

यूट्यूबमा ९ लाख ४३ हजारभन्दा बढी सब्सक्राइबर रहेका चर्चित युवा गेमर गौतमलाई कारबाही गरेपछि नेपाल प्रहरीले सामाजिक सञ्जालमा जनचेतनामूलक तथा रोचक भिडियो सार्वजनिक गरेको छ।

पब्जी गेमको शैलीमा तयार पारिएको सो चेतनामूलक भिडियोमा भनिएको छ, ‘हेडसटबाट बच्ने हेल्मेट, रोडमा पनि चाहिन्छ। हेल्मेट लगाऔं, जीवन जोगाऔं।’

कारबाहीमा परेपछि सार्वजनिक गरिएको भिडियोमा स्ट्रिमर गौतमले हातमा ट्राफिक चिट समात्दै आफ्नो गल्ती स्वीकार गरेका छन्।

उनले ट्राफिक नियम पालना गर्न सबैलाई अपिल गर्दै भनेका छन्, ‘मैले हेलमेट नलगाई हिँडेको भिडियो सामाजिक सञ्जालमा चर्चामा थियो। सपिङ गर्न वा कपाल काट्न, जतिसुकै छोटो दूरीमा जाँदा पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने रहेछ। यो हाम्रो आफ्नै सुरक्षाका लागि हो। मैले आफ्नो गल्तीको सजाय पाइसकेको छु, तपाईंहरू पनि ट्राफिक नियम पालना गर्नुहोला।’

नेपाल प्रहरीले खेलभित्र टाउकोमा लाग्ने गोली (हेडसट) बाट बच्न हेल्मेट खोज्ने गेमरहरूले वास्तविक जीवनमा सडक यात्रा गर्दा पनि सुरक्षाका लागि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने सन्देश दिएको छ।

प्रकाशित: २५ असार २०८३ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App