नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्ने बताएका छन्।
सुर्खेतको भेरीगंगा नगरपालिका १२, छिन्चुस्थित सोमबार इलाका प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले यो सुविधा सम्पन्न भवन ढुंगा र सिमेन्टबाट बनेको संरचना मात्र नभई नागरिकको विश्वास र आस्थाको केन्द्र बन्ने बताएका हुन्।
उनले भने, ‘देशभरि २३५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र छन्, जसमा बेलायती सरकारको सहयोगमा नेपाल प्रहरीका अहिलेसम्म ५८ वटा प्रहरी सेवा केन्द्र बनेका छन्। यसका लागि बेलायत सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।’ रु तीन करोड ३५ लाख ३२ हजार लागतमा बनेको भवन अपांगतामैत्री रहेको उनको भनाइ छ।
सो अवसरमा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्याप्त पूँजी, प्रविधि र मानव दक्ष जनशक्ति भए मुलुकलाई धेरै योगदान गर्न सक्ने बताए। कर्णालीमा लागुऔषध, सवारी दुर्घटना, जातीय विभेद, बालविवाह र घरेलु हिंसा विद्यमान रहेको जनाउँदै उनले यसको नियन्त्रण तथा निराकरणका लागि नेपाल प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने धारणा राखेका थिए।
प्रकाशित: १० भाद्र २०८२ ०९:५६ मंगलबार

