१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

व्यापारिक घराना देवनारा समूहको घर र अफिसमा प्रहरीको छापा

सोमबार बिहानै विराटनगरमा एक व्यापारिक घरानाको घर र अफिसमा प्रहरीले छापा मारेको छ। व्यापारिक घराना देवनारा समूहको घर र अफिसमा प्रहरीको छापा मारेको हो।  

विराटनगर महानगरपालिका–७ मा देवनारा समूहको घर र अफिस रहेको छ। देवनारा समूहको नेतृत्व प्रकाश मुन्दडाले गर्दै आएका छन्। प्रकाश मुन्दडा नेपालको पहिलो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष हुन्।

प्रहरीले बिहान करिब ४ बजेदेखि घर र अफिस घेराबन्दी गरेर छापा मारेको हो। मुन्दडाको कार्यालय र घर नजिकै रहेको छ। प्रहरीले उनको घर वरपरको सडक पूरै बन्द गरेर सर्वसाधारणलाई आवतजावत गर्न समेत दिएको छैन। व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।  

प्रहरीले किन र केका आधारमा छापा मारेको हो भन्ने विषयमा केही उल्लेख गर्न चाहेको छैन। घटनाका सम्बन्धमा जानकारी लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, प्रवक्ता डिएसपी मकेन्द्र मिश्रसँग फोन सम्पर्क आएनन्। यता, कोशी प्रदेश प्रहरी प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले मोरङ प्रहरीले व्यापारिक घरनामा छापा मारेको विषयमा थाहा नभएको बताए। उनले भने, ‘मलाई थाहा छैन, डिआइजी साहेबलाई भनेको छ कि ? के भएको रहेछ म बुझ्छु।’

मोरङ प्रहरीले करिब साढे ५ घण्टा लगाएर मुन्दडाको घरमा खानतलासी गरेको थियो। प्रहरी स्रोतका अनुसार अवैध रूपमा ठुलो परिमाणमा नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी सुरु गरेको हो। स्रोतले  भन्यो, ‘मुन्दडामाथि विगत लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको, कर छलीको आशंका र अवैध चाँदीको कारोबार गर्दै आएको आरोप लाग्दै आएको थियो।’

प्रहरीले खानतालासी गर्दा कसैलाई पनि घर वरपर जान दिएको थिएन। प्रहरीले खानतलासी सकेर गएपछि घर बाहिर आएका प्रकाश मुन्दडा र उनका बुवा बेनीगोपाल मुन्दडाले घरमा प्रहरीले खानतलासी गरेको स्वीकार गर्दै, उनीहरुले केही नभेटेको र केही पनि नलगेको बताए। मुन्दडाले भने, ‘पुलिसले हामीलाई केही इन्फर्मेसन छ हामी चेक गर्न आएका हौं भन्यो। हामीले पनि सहजै ल चेक गर्न भन्यौं। उहाँहरुले हरेक कोठा, भान्छा घर, भकारी घर, यताउति सबै ठाउँ चेक गरे। तर, कहीँ कतै केही पनि भेटाउनु भएन।’

घरमा भएका सबै दराज, कोठालगायत घरभित्र र बाहिर राम्रोसँग हेरे केही नभेटाएपछि त्यसै फर्किएको बताउँदै, मुन्दडाले भने, ‘उहाँहरूले क्लिन चिट दिएर जानु भयो। केही छैन। यहाँबाट केही लानुभएन। कसैको अपमान होइन। सिस्टम छ नि अब। शंका लागेपछि त खानतलासी हुन्छ नि त। उहाँहरूको जिम्मामा जे छ, उहाँहरूले राम्रो काम गर्नुभयो।’

प्रहरीका एक दर्जनभन्दा बढी गाडी प्रयोग गरिएको थियो भने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा डिएसपी मकेन्द्रकुमार मिश्र, डिएसपी सन्तोष श्रेष्ठ, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी लोकेन्द्रसिंह गुरु, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य इन्स्पेक्टरहरू समेत अपरेसनमा सहभागी थिए।

प्रकाशित: १८ श्रावण २०८३ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App