१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

प्रहरी संगठन प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी : महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक कार्कीले प्रहरी संगठन नागरिकको भरोसाको संस्था भएकाले यसलाई अझ सुदृढ बनाइने बताए ।

उनले वर्तमान अवस्थामा शान्ति–सुरक्षा कायम गर्नु मात्रै नभई नागरिकलाई सहज, सरल तथा प्रभावकारी सेवा प्रदान गर्नु नै नेपाल प्रहरीको मुख्य दायित्व रहेको उल्लेख गरे ।

महानिरीक्षक कार्कीले प्रहरी र समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउन देशभरका युनिट प्रमुखलाई निर्देशन दिइएको जानकारी दिए । सोअनुसार कार्य भए अपराध नियन्त्रण तथा समाजमा शान्ति कायम गर्न सहज हुने उनको भनाइ थियो ।

नेपाल प्रहरीले प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई आधुनिक बनाइरहेको उल्लेख गर्दै उनले डिजिटल प्रणालीमार्फत उजुरी दर्ता, अपराध अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउँदै लगिएको बताए ।

उनले साइबर अपराध, लागूऔषध कारोबार, सङ्गठित अपराध तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण अहिले नेपाल प्रहरीका प्रमुख चुनौतीका रूपमा रहेको बताए । यस्ता गतिविधिविरुद्ध विशेष अभियान सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।

नेपाल प्रहरीप्रति जनविश्वास बढाउनु अहिलेको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले जनताको सेवामा ढिलासुस्ती गर्ने तथा गैरजिम्मेवार र अनुशासनहीन कार्य गर्नेहरूलाई छुट नहुने चेतावनी दिए ।

प्रकाशित: ३० वैशाख २०८३ १८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App