काठमाडौंको टेकु क्षेत्रमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। आइतबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाहीका क्रममा गोली चलाउँदा भारतको उत्तर प्रदेशस्थित रुपडियाका २५ वर्षीय राज सोनी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोनीको दायाँ खुट्टाको घुँडामाथि र घुँडामुनि गरी दुई राउन्ड गोली लागेको छ। घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सोनीसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–परेशपुरका १९ वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चपुरी नगरपालिका–५ की १९ वर्षीया शोफिया मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू भारतीय नागरिक सोनीका सहयोगी हुन्।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेकाहरूको साथबाट २४ हजार ७ सय क्याप्सुल टेपेन्टाडोल बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानले राज सोनी काठमाडौं उपत्यकामा लागुऔषध भित्र्याउने मुख्य कारोबारीमध्ये एक रहेको देखिएको ब्यूरोले जनाएको छ।
घटना काठमाडौं महानगरपालिका–१२ स्थित टेकुको दोभान पुल नजिक भएको हो। प्रहरीका अनुसार कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए। त्यसपछि सुरुआतमा हवाई फायर गरी आत्मसमर्पण गर्न चेतावनी दिइएको र त्यसले पनि काम नगरेपछि नियन्त्रणका लागि गोली चलाइएको प्रहरीले जनाएको छ।
ब्यूरोका प्रमुख एसएसपी सुवास बोहराका अनुसार घाइतेलाई नियन्त्रणमा लिएपछि तत्काल उपचारका लागि अस्पताल पठाइएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३ श्रावण २०८३ १९:५४ आइतबार





-600x400.jpg)