पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँदा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने पनि महानगरले बताएको छ।
महानगरले बुधबार एक सूचना जारी गर्दै खोलाघर भित्रका सबै संरचना हटाउन सूचना जारी गरेको हो। पोखरा महानगरपालिका–१८, अँधेरीकुनादेखि पोखरा–२, ४,५,७ ८ र १७ हुँदै फिर्केखोला वडा नम्बर ६ को गाइघाट पुगेर फेवातालमा मिसिएको छ। महानगरबाट खटिएको प्राविधिक टोलीले यसअघि स्थलगत नापजाँच गरि पोल गाडिएको भन्दा भित्रपट्टिका संरचना हटाउन महानगरले निर्देशन दिएको हो। पोखराको मुख्य सहर भएर बगेको फिर्केखोला अतिक्रमण गरि विभिन्न ठाउँमा संरचना बनाइएका छन्। कतिपय ठाउँमा त खोला नै देख्न सकिन्न।
खोला किनारका संरचना हटाउन भन्दै महानगरले यसअघि २०८० कात्तिक १० गते ३५ दिने सूचना पनि जारी गरेको थियो। सूचना प्रकाशित भएपछि उच्च अदालत पोखरामा सूचनाका विरुद्ध दायर भएको मुद्धामा अदालतबाट सूचनाउपर उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने भनि आदेश भएको थियो। अदालतबाट महानगरको कदम नै सदर भएपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको थियो।
गत वैशाख ४ मा महानगरले जारी गरेको सूचना समेतबाट फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना जेठ ९ गतेभित्र हटाउन पछिल्लो निर्देशन दिएको हो। तोकिएको दिनभित्र व्यक्ति वा संस्थाले संरचना नहटाएमा महानगरले ती संरचना हटाउने र हटाउँदो क्रममा लाग्ने लागत समेत व्यक्ति वा संस्थाबाट असुल गरिने महानगरको सूचनामा उल्लेख छ। ‘तोकिएको समयभित्र खोलाघरभित्रका संरचना व्यक्ति वा संस्थाले नहटाएमा महानगरले हटाउनेछ र हटाउँदा लाग्ने शुल्क असुल्नेछ,’ महानगरले सूचनामा भनेको छ।’
खोला मिचेको जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरुले संरचना निर्माण गरी कार्यालय संचालन गर्ने, भाडामा लगाउने र पर्खाल लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो महानगरमा आएको पनि महानगरले यसअघिको सूचनामार्फत जानकारी गराएको थियो।
यसअघि पनि पोखरामा सार्वजनिक जग्गा र खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको थियो। सबैभन्दा बढी गुनासो पोखराको बजार भएर बगेको फिर्के खोला अतिक्रमणको रहेको छ। महानगरले बारम्बार फिर्केखोला अतिक्रमण गरि बनाएका संरचना हटाउने भन्दै आएपनि अहिलेसम्म हटेका छैनन। पोखरा महानगर–१८, अँधेरीकुनादेखि सुरु भएर पर्स्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोलाको लामो समयदेखि मापदण्ड १० मिटर कायम छ। तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा गायबसमेत भएको छ।
यो खोलामाथि नै घर÷टहरा बनाइएको छ। पोखराको फिर्केखोला नापजाँच गर्दा खोलामाथि नै घरटहरा निर्माण भएको भन्दै यसअघि नै अध्ययन टिमले प्रतिवेदन पनि दिएको छ। पोखरा महानगरपालिकाले बनाएको सो समितिले ३२ दिन लगाएर खोलाको नापजाँचपछि बनाएको प्रतिवेदनमा खोलाको मापदण्ड मिचेर १६० वटा संचरना बनाएको उल्लेख छ। जहाँ ३५ वटा स्थायी र ९७ वटा अस्थायी प्रकृतिका संरचना बनाएको जनाइएको छ। अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको कुल लम्बाइ करिब ८ किलोमिटर रहेको छ।
प्रकाशित: ६ जेष्ठ २०८३ १६:२२ बुधबार





