पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ।
मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन्।
जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन्।
मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रूपमा सञ्चालन हुने गरेको थियो। प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ।
जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरूले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नु परेको बताए। यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ।
यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन्। रासस
प्रकाशित: ३ कार्तिक २०८३ ०६:१३ मंगलबार





