पोखरा महानगरपालिका-६ स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण बीच तालमा फसेका ११ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
दिउँसो करिब सवा ४ बजेको समयमा मौसममा अचानक परिवर्तन भई हावाहुरी चल्दा तालमा घुम्न गएका उनीहरू मध्य भागमा अलपत्र परेका थिए।
घटनाको जानकारी पाउनासाथ कास्कीको कालिका गणबाट फेवा रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरी बलको टोली तत्काल उद्धारमा खटिएको थियो।
सशस्त्र प्रहरीको टोलीले तालमा फसेका सबै ११ जनालाई सुरक्षित रूपमा किनारमा ल्याएको छ।
उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका-२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका-३३ बागमाराकी २१ वर्षीया सलिना पुन रहेका छन्।
यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २१ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र २१ वर्षीया रिया मगरलगायत अन्य व्यक्तिहरूको पनि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ चैत्र २०८२ १८:५६ आइतबार





