२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

फोक्सिन्टारको पुलले गाईघाट–दिक्तेल यातायात सहज बन्ने

उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने सगरमाथा लोकमार्ग यही महिनाको अन्तिमदेखि सुचारु हुने भएको छ । सदरमुकाम गाईघाटदेखि खोटाङ मुकाम दिक्तेल जोड्ने सडक खण्डमा पर्ने फोक्सिन्टारस्थित नदीमा बेलिब्रीज पुनर्जडान सुरु भएसँगै ६ महिनादेखि अवरुद्ध लोकमार्गमा सोझो यातायात सुचारु हुन लागेको हो ।  

गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले केहीदिनभित्रै बेलिब्रीज पुनर्जडान कार्य थालेको जनाएको छ । ठेक्का लागेर सबै सामग्री तयारी अवस्थामा पुगेकाले आजभोलि नै काम थालेर सातादिनभित्र पुल चालु गर्न लागेको योजना प्रमुख (डिई) दिपेश रजकले बताए । उनका अनुसार बेलिब्रीज पुनर्जडानको ठेक्का सम्झौता भईसकेको र काम सुरुको सङ्घारमा पुगेको छ ।  

बेलिब्रीज जडान गर्ने कामको ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रालि कटारी– ३, उदयपुरले लिएको योजना कार्यालयले जनाएको छ । डिई रजकका अनुसार बेलिब्रीज पुनर्जडान कार्यका लागि प्रालिले मूल्य अभिबृद्धि कर (भ्याट)सहित ९६ लाख ७७ हजार ९ सय ३७ रुपैँयामा ठेक्का लिएको छ ।  

सम्झौता भएर सामान तयारी हालतमा राखे पनि नदीमा पानीको सतह नघटेकाले बेलिब्रीज जडान कार्यमा ढिलाई भएको हो । अहिले पानीको सतह कम हुदै गएकाले अव काम सुरु गर्न लागिएको छ । काम थालेको बढीमा १०–१२ दिनभित्र बेलिब्रीज तयार भईसक्ने प्राविधिकले जनाएका छन् ।  

गतवर्षको अविरल वर्षाले असोज १२ गते राति फोक्सिन्टारको मोटरेबल पक्की पुल बगाएपछि गाईघाट दिक्तेल सोझो यातायात विच्छेद भएको हो । १३ वर्षमा बनेको १ सय २० मिटर लामो आर्क डिजाईनको पक्की पुल मध्यराति बाढीले बगाएपछि टुटेको यातायात सम्पर्क जोड्न बेलिब्रीज लगाइएको थियो ।  

गतवर्ष पुसमा लगाइएको बेलिब्रीज वर्षायाम सुरु भएसँगै चैत अन्तिममा निकालिएको थियो । बेलिब्रीज निकालेपछि गाईघाटबाट गएका गाडीहरु रसुवाघाट वारि र खोटाङतर्फका गाडी पारि रोकेर यात्रुहरु झोलुङ्गे पुल तरेर गन्तव्य चुम्दै आएका छन् । बेलिब्रीज बनेपछि भने वर्षायाम सुरु नभएसम्म गाडीहरु सोझै गाईघाट दिक्तेल गर्न सक्नेछन् । 

प्रकाशित: १४ मंसिर २०८२ २१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App