चितवनको भरतपुर महानगरपालिका-२५ स्थित बुद्धिचोककी लक्ष्मी रानाभाटले व्यवसायीक रूपमा तरकारी खेती गरेको दुई दशक पुग्यो। रानाभाटले सुरुवाती वर्ष विषादीको प्रयोग निकै कम गर्थिन्।
तर, पछिल्ला वर्ष भने तरकारी खेतीको २० प्रतिशत लगानी विषादीमा गर्नुपर्छ।
‘सुरुवाती वर्ष कम्पोस्ट मल हालेर पनि तरकारी राम्रो फल्थ्यो। पछिल्ला वर्ष हप्तामा एक पटक रासायनिक विषादी नहाली उत्पादन लिन नै सकिँदैन,’ रानाभाटले तरकारी खेती गर्दाको खर्च सुनाउँदै भनिन् ‘वर्षमा १५ लाख रुपैयाँ त विषादीमा मात्र खर्च हुन्छ।’
उनले १२ बिगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छिन्। प्रत्येक वर्ष तरकारी खेतीमा ६० लाखको हाराहारीमा लगानी लाग्ने गरेको उनले बताइन्।
पहिलेभन्दा किराको प्रकोप बढी भएकाले विषादीको प्रयोग बढी गर्नु परेको उनले सुनाइन्। ‘पहिला बाली नष्ट गर्ने किराहरू एकदम कम थियो। तरकारी पनि राम्रो हुन्थ्यो,’ उनले भनिन् ‘अहिले सागलाई समेत विषादी नहाली उत्पादन लिन सकिँदैन।’
सोही ठाउँकी गीतादेवी रानाभाटलाई पनि बर्सेनि विषादीको प्रयोग बढी गर्नुपर्ने बाध्यता छ। तीन बिगाहामा तरकारी खेती गर्दै आएकी रानाभाटले वर्षमा दुई लाखको विषादी प्रयोग हुने गरेको बताउँछिन्।
‘पहिलो वर्षभन्दा दोस्रो वर्ष, दोस्रो वर्षभन्दा तेस्रो वर्षमा विषादीको प्रयोग बढी गर्नुपर्छ’ उनले भनिन् ‘सातामा एक पटक विषादी नहालेमा तरकारी नै उत्पादन हुँदैन।’ मल्चिङदेखि विषादीसम्मको लगानी प्रत्येक वर्ष वृद्धि हुँदा लगानी समेत उठाउन कठिन भएको उनले बताइन्।
लक्ष्मी र गीतालाई मात्र होइन व्यवसायीक खेती गर्ने किसानलाई प्रत्येक वर्ष विषादीको बढी प्रयोग गर्नुपर्ने बाध्यता छ।
उत्पादन जोगाउन र बजारको माग पूरा गर्न किसानहरू विषादीमा निर्भर हुँदै गएको पाइन्छ। ‘पहिले वर्षमा दुई–तीन पटक छर्किन्थ्यो, अहिले त पाँच–छ पटक गर्नुपर्छ’–तरकारी किसान हेमराज आचार्यले भने।
मौसममा आएको परिवर्तन, नयाँ किसिमका रोग तथा बजारमा आकर्षक देखिने उत्पादनको मागले विषादी प्रयोग बढाउनु पर्ने अवस्था रहेको आचार्यले बताए।
बजारमा सफा र आकर्षक देखिने तरकारी तथा फलफूलको माग उच्च छ। थोरै दाग लागेको वा आकारमा असमान उत्पादन कम मूल्यमा मात्र बिक्ने भएकाले किसानले जोखिम लिन चाहँदैनन्।
सरकारी तथ्याङ्क हर्ने हो भने पनि नेपालमा प्रत्येक वर्ष विषादीको प्रयोग बढी भएको देखिन्छ।
सन् २०१९/२०२० मा ६ लाख ८१ हजार किलो विषादी आयात भएको तथ्याङ्कमा उल्लेख छ। यो वर्ष किटनाशक १ लाख ६३ हजार किलो विषादी ल्याइएको थियो।
यस्तै, ढुसीनाशक ३ लाख ५२ हजार किलो, जीवाणुनाशक २४ किलो, झारनाशक १ लाख ६२ हजार, मुसानाशक विषादी ३ हजार ५ सय किलो र जैविक कीटनाशक ४० किलो आयात भएको थियो।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा वर्षमा ११ लाख ३५ हजार किलो हाराहारीमा विषादी आयात हुने गरेको छ।
सन् २०२१/२०२२ मा ११ लाख ३५ हजार किलो विषादी आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। सो परिमाणमा विषादी भित्र्याउँदा १ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ बाहिरिएको थियो।
त्यसको अघिल्लो वर्ष ७ लाख ८३ हजार किलो विषादी आयात भएको थियो। यद्यपि पछिल्ला वर्ष विषादीको प्रयोगलाई कम गर्नका लागि जिल्लामा सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै आएका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मी विषादी सचेतना सम्बन्धी किसानलाई तालिम समेत प्रदान गरिरहेको बताए।
‘हामीले रासायनिक विषादीको प्रयोग कम गर्न सुझाव दिँदै आएका छौँ। त्यसको विकल्पका रूपमा आईपिएम पद्धति पनि किसानले अपनाउन सक्छन्,’ उनले भने ‘एक्कासि विषादीको प्रयोग कम गर्नुभन्दा बिस्तारै कम प्रयोग गर्न तर्फ किसानहरू जान जरुरी छ।’
उनले तरकारी उत्पादन क्षेत्रमा तरकारीमा विषादीको प्रयोगले हुने असरका विषयमा जानकारी दिने गरेको बताए। विषादीको वैकल्पिक प्रयोगमा जानुपर्ने बताए।
प्रकाशित: १९ वैशाख २०८३ १६:१४ शनिबार





