९ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

गढीमाई नगरपालिकामा कामै नगरेका करार कर्मचारीका नाममा करोडौँ भुक्तानी

रौतहटको गढीमाई नगरपालिकामा करार कर्मचारी नियुक्ति तथा तलब भुक्तानीका नाममा करोडौँ रुपैयाँको आर्थिक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ।

नगरपालिकाले वास्तविक रूपमा काम नगरेका तथा कार्यालयमा उपस्थितिसमेत नभएका सयौँ करार कर्मचारीका नाममा विगत वर्षदेखिको तलब एकमुष्ट रूपमा बैंक खातामार्फत भुक्तानी गरेको पाइएको छ।

नगरपालिकाले सडकदेखि होटलका बन्द कोठासम्म बसेर करार कर्मचारी भर्ना गरेको र उनीहरूको नियुक्ति, हाजिरी तथा तलब भुक्तानी प्रक्रियामा व्यापक अनियमितता भएको स्रोतको दाबी छ।

कतिपय कर्मचारीले एक दिन पनि कार्यालयमा काम नगरेको अवस्थामा हाजिरी विवरण प्रमाणित गरी लाखौँ रुपैयाँ तलब भुक्तानी गरिएको आरोप छ। यस प्रकरणले स्थानीय सरकारको आर्थिक पारदर्शिता, प्रशासनिक जवाफदेहिता र सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादव बागमती नदीको बालुवा तथा गिट्टी उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए। त्यसपछि नगर उपप्रमुख स्मिता यादवले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

कार्यवाहक नगरप्रमुख यादवसहित नगर कार्यपालिकाबाट नियमविपरीत निर्णय गराई प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेय र लेखापाल सीताराम पालको मिलेमतोमा करार कर्मचारीका नाममा करोडौँ रुपैयाँ तलब भुक्तानी गरिएको स्रोतको दाबी छ।

करिब आठ महिनादेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका पाण्डेयको कार्यशैलीप्रति पनि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। दसैँपछिदेखि कार्यालयको नियमित कामकाज प्रभावित भएको तथा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल कार्यालयमा नियमित उपस्थित नभई बाहिरबाटै चेक काट्ने गरेको स्थानीयको आरोप छ।

कार्यालयमा नियमित उपस्थित नभएका कर्मचारीको हाजिरी प्रमाणित गरेर तलब भुक्तानी गरिएको विषय झनै रहस्यमय बनेको छ। सरकारी सेवामा करार कर्मचारी नियुक्त गर्दा कानुनी प्रक्रिया, योग्यता, उमेरहद र आवश्यकतासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने भए पनि गढीमाई नगरपालिकामा ती मापदण्डको बेवास्ता गर्दै उमेरले ५० वर्ष नाघेका तथा सामान्य हस्ताक्षरसमेत गर्न कठिनाइ हुने व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्त गरिएको नगरपालिका स्रोतको दाबी छ।

नातागोताका व्यक्तिलाई कर्मचारी देखाएर तलब भुक्तानी?

यस प्रकरणमा गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा कम्प्युटर सहायकका रूपमा करारमा कार्यरत कर्मचारी विनोद साह र लेखापाल सीताराम पालको भूमिकामाथि समेत प्रश्न उठेको छ।

स्रोतका अनुसार करार कर्मचारीको नामावलीमा आफ्नै नातागोताका व्यक्तिहरूलाई समावेश गरी नक्कली तलब भरपाई तयार पारेर सरकारी रकम भुक्तानी लिने काम भएको छ। लेखापाल पालले प्रियङ्का पाल तथा कम्प्युटर सहायक साहले सुलेखा कुमारी साहलगायतका व्यक्तिका नाममा नक्कली तलब भरपाई तयार पारेको स्रोतको दाबी छ।

तीन करोडभन्दा बढी रकम कटौतीदेखि दोस्रो किस्ताको निकासासम्म शंका

नगरपालिकाको गत आर्थिक वर्षको पहिलो किस्ताको रकमको हिसाबकिताब नमिलेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय, गौरले करिब तीन करोड रुपैयाँ एकमुष्ट कटौती गरेको स्रोतको दाबी छ। रकम कटौतीको विषय र त्यसको आधारसमेत पारदर्शी रूपमा सार्वजनिक हुनुपर्ने स्थानीयवासीको माग छ।

यसैबीच, कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दोस्रो किस्ताको रकम निकासा भएपछि विगतमा काम नभएका योजनाका नक्कली फाइल तयार पारेर पुनः कार्यपालिका बैठकबाट निर्णय गराउने र १८ नम्बर फाराम भरी रकम निकासा गर्ने तयारी भइरहेको नगरपालिका स्रोतले जनाएको छ।

यसले विगतका भुक्तानीको वास्तविकता, कागजातको विश्वसनीयता तथा आगामी बजेट निकासाको प्रक्रियामाथि थप प्रश्न उठाएको छ।

सुशासनको नारामाथि स्थानीय तहबाटै चुनौती

देशमा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक प्रशासनमा सुधार र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त भइरहेका बेला गढीमाई नगरपालिकामा सार्वजनिक भएका यी आरोपले स्थानीय तहको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका छन्।

विशेषगरी करार कर्मचारी नियुक्तिमा पारदर्शिता, वास्तविक कामको विवरण, हाजिरी अभिलेख, तलब भुक्तानीको आधार तथा कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ।

सरकारले अनावश्यक तथा गैरकानुनी रूपमा नियुक्त गरिएका करार कर्मचारी हटाउने नीति अघि सारेको अवस्थामा गढीमाई नगरपालिकामा भने उल्टै पुराना नियुक्ति र भुक्तानीलाई निरन्तरता दिइएको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृतको दाबी : कार्यपालिका निर्णयअनुसार भुक्तानी भएको हो

यता, प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेयले भने नगर कार्यपालिकाको बैठकबाट भएका निर्णयअनुसार मात्रै भुक्तानी गरिएको बताएका छन्। आफूले गलत भुक्तानी नगरेको उनको दाबी छ।

तर कार्यपालिका बैठकबाट निर्णय भएको भन्दैमा प्रत्येक भुक्तानी स्वतः कानुनी र वैध हुन्छ भन्ने हुँदैन। कर्मचारीको वास्तविक नियुक्ति, काम गरेको प्रमाण, हाजिरी अभिलेख, तलब भरपाई, बैंक भुक्तानी विवरण र निर्णय प्रक्रियाको कानुनी परीक्षण आवश्यक देखिन्छ।

अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक तथा सम्बन्धित निकायले गढीमाई नगरपालिकाका करार कर्मचारीको नियुक्तिदेखि तलब भुक्तानीसम्मका सम्पूर्ण कागजात छानबिन गर्नुपर्ने देखिन्छ।

करिब १६५ जना भनिएका कर्मचारी वास्तवमै कार्यरत थिए कि थिएनन्? उनीहरूको नियुक्ति कुन आधारमा भयो? चार वर्षको तलब एकमुष्ट भुक्तानी गर्ने निर्णय कसले गर्‍यो? नक्कली भनिएका तलब भरपाई र बैंक खातामा गएको रकमका वास्तविक लाभग्राही को हुन्?

यी प्रश्नको निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक नभएसम्म गढीमाई नगरपालिकाको आर्थिक पारदर्शितामाथि उठेका प्रश्न समाधान हुने देखिँदैन। सार्वजनिक बजेट जनताको करबाट संकलित रकम भएकाले यसको दुरुपयोगसम्बन्धी आरोपमा सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन आवश्यक छ।

प्रकाशित: ९ मंसिर २०८३ १९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App