९ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

निधि सभापतिको उम्मेदवार बन्ने

नेपाली कांग्रेसको इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ। १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा आफूपछि पार्टी नेतृत्व बिपी पुत्र शशांक कोइरालालाई हस्तान्तरण गर्ने पक्षमा देखिएका छन्। तर देउवानिकट अन्य नेताले पनि नेतृत्वको आकांक्षा देखाएका छन्।

विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेको पक्षले असोजमा १५औं महाधिवेशन गरिसकेको छ। महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मंगलबार मात्र  अध्यावधि गरेको छ। विशेष महाधिवेशनपछि कांग्रेसको मूल प्रवाहबाट बाहिर परेको देउवा पक्ष भने नेतृत्व प्रतिष्पर्धा सुरु भएको हो। मंगलबार महाधिवेशन तयारी समितिको बैठकका क्रममा नेता विमलेन्द्र निधिले १५औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार बन्ने जनाएका छन्।  

महाधिवेशन आयोजक तयारी समितिको बैठक अघि संयोजक डा. शशांक कोइरालालाई चुनदेवीस्थित उनकै कार्यालयमा भेटेर निधिले सभापतिको उम्मेदवार बन्ने जनाएका हुन्। देउवासहितका नेताहरू शशांकलाई नै नेतृत्वमा अघि बढाउने पक्षमा रहेको बताइरहेका बेला उनले निधिलाई कुनै जवाफ नदिएको निकट स्रोतले जनाएको छ। देउवासहितका नेताहरूको समझदारीमा कांग्रेसका संस्थापकमध्येका एक बिपीका पुत्रसमेत रहेका शशांकलाई महाधिवेशन आयोजनाका लागि संयोजक बनाइएको छ। नेतृत्वका लागि भने नेता निधिका साथै प्रकाशमान सिंह, प्रकाशशरण महत र एनपी साउद पनि आकांक्षा देखाउँदै आएका छन्।  

देउवा पक्ष कांग्रेसको महाधिवेशन तयारी समितिले १५औं महाधिवेशन टुडिखेलमा आयोजना गर्ने र नयाँ नेतृत्व चयनका लागि चुनाव पनि त्यही गर्ने निर्णय गरेको छ। त्यसका लागि विभिन्न समिति बनाएको देउवा पक्ष नेतृत्व चयनका लागि विद्युतीय मतदान गर्ने निर्णय गरेको छ। महाधिवेशनमा सहभागि हुने प्रतिनिधिबाट ३ हजार शुल्क उठाउने निर्णय बैठकले गरेको छ।  

उता गगनकुमार थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीले सञ्चालन गर्ने अभियानका विषयमा उसले छलफल गरिरहेको छ। बैठक बिहीबार पनि बस्ने छ।

प्रकाशित: ९ मंसिर २०८३ २०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App