कृषि क्षेत्रबाट किसानलाई आत्मनिर्भरताको बाटो देखाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कपासदेखि रेशम खेतीसम्मलाई प्रवर्द्धन गर्ने भएको छ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार पालिकाले वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटेमा कपास र रेशम खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने छ। यसका लागि पालिकाले ७ लाख रुपैयाँ विनियोजन गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको पालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईले जानकारी दिए।
पालिकाको वडा नं ४ डुम्रिसे, वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिनमा कफी खेती प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ। कफी खेतीका लागि १० लाख रुपैयाँ बजेट रहेको भट्टराईले जानकारी दिए। वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिनमा पालिकाले मौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने छ।
भट्टराईका अनुसार यसका लागि ५ लाख रुपैयाँ बजेट रहेको छ। पालिकाले यसअघि वडा नं २ थेचम्बुमा आलु प्रवर्द्धन कार्यक्रमका लागि किसानलाई आलुको बीउदेखि खेतीका लागि प्रयोग हुने उपकरण समेत दिइसकेको जनाएको छ। वडा नं १ नाङखोल्याङमा स्थानीय माटो सुहाउँदो फलफूल र तरकारीबालीमा सहयोग गर्दै आएको पालिकाले जनाएको छ। सम्बन्धित वडाहरूले समेत स्थानीय माटो सुहाउँदो खेती प्रणालीका लागि किसानलाई सहयोग गर्दै आइरहेका छन्।
कपास र रेशम खेती, कफी खेती र मौरी प्रवर्द्धन कार्यक्रममा सहभागी हुन चाहने कृषकहरूले माघ ४ गतेभित्रमा पालिकामा निवेदन दिइसक्न पालिकाले आग्रह गरेको छ।
प्रकाशित: २९ पुस २०८२ १३:१३ मंगलबार





