रौतहटमा सुटकेशभित्र शव फेला परेकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ।
हत्या स्वीकार गर्दै बुधबार बिहान पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा साँझ साढे ५ बजे निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार पासवानले बुधबार बिहान आफूलाई आगो लगाएपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। गम्भीर घाइते अवस्थामा काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
मृत्यु हुनुअघि बुधबार बिहान उनले एक भिडियो सन्देशमार्फत हत्याको विस्तृत विवरण सार्वजनिक गरेका थिए।
हिन्दी भाषामा रेकर्ड गरिएको साढे ९ मिनेट लामो भिडियोमा उनले गौर नगरपालिका-५ स्थित आफ्नो डेरामा रुबीको हत्या गरेको, शवलाई सुटकेशमा हालेको र अटो रिक्सामा राखेर फालेको स्वीकार गरेका थिए।
गत शनिबार रातिदेखि हराइरहेकी माधवनारायण नगरपालिका-६ माधोपुरकी रुबी कुमारी साहको शव आइतबार बिहान एक सुटकेशभित्र फेला परेको थियो। प्रहरीले अनुसन्धान थालेपछि हत्यामा पासवानको संलग्नता खुलेको थियो।
प्रहरीका अनुसार, ३० वर्षीय पासवान र रुबीको सम्बन्ध पुरानो थियो। उनीहरू एउटै गाउँ माधोपुरका हुन् र सानैदेखि सँगै पढेका सहपाठी थिए।
पासवानले आफ्नो भिडियो सन्देशमा कक्षा १० मा पढ्दा नै आफूहरूले भागेर भारतको सीतामढी जिल्लाको एक अदालतमा विवाह गरेको तर रुबीको परिवार, विशेषगरी आमाले सो विवाह अस्वीकार गरेको उल्लेख गरेका थिए।
यही पारिवारिक विवाद हत्याको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको मुख्य अभियुक्तको मृत्युसँगै हत्याको रहस्य थप जटिल बनेको छ।
प्रकाशित: ११ भाद्र २०८२ १८:२३ बुधबार





