२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

राहदानी विभागले भन्यो- आ’त्मदा’ह प्रयास गर्ने व्यक्ति सेवा लिन आएका होइनन्

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन नआएको विभागले जनाएको छ।

विभागको गेट बाहिर राहदानी सेवा लिन आएका सेवाग्राहीले आत्मदाह गरेको भन्दै सामाजिक सञ्जाल भ्रम फैलिएपछि विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे स्पष्टीकरण दिएको हो।

विभागले बिहीबार दिउँसो अन्दाजी १:३८ बजे विभाग बाहिर घटेको सो दुःखद घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी र सम्बन्धित सुरक्षा निकायबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा घाइते भएका व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा नआएको पुष्टि भएको विभागले जनाएको छ।

प्रहरी प्रशासनको सहयोगमा उनलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको र हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

राहदानी विभागले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

राहदानी विभागको गेट नजिकै आत्मदाहको प्रयास भएका कारण सुरुमा राहदानी सेवा लिन ढिलाइ भएको वा राहदानी नपाएका कारण ती युवकले यस्तो कदम चालेको हुन सक्ने अफवाह फैलिएको थियो।

तर, महानगरपालिकाको पार्किङ कारबाही र नगरप्रहरीको कठोर व्यवहारका कारण आक्रोशित बनेका पठाओ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेको तथ्य यसअघि नै बाहिर आइसकेको छ।

प्रकाशित: २५ असार २०८३ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App