१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

फाइल तस्बिर

पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ।

मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उनले जानकारी दिए।

इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ। केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरूका लागि सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ। मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ।

इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको स्थल हो। समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहको मन्दिरको वरपर जङ्गलले ढाकेको छ। फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ। इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छेससम्म पनि देख्न सकिन्छ।  

मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत सेवा र अन्य भौतिक पूर्वाधार निर्माणपछि यहाँ धार्मिक पर्यटकको आवागमन बढेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। पछिल्लो केही वर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको अध्यक्ष गुरुङले बताए।

फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटक मन्दिर पुग्ने गरेका छन्। यहाँ सार्वजनिक बिदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र वनभोज खान आउने पर्यटकको घुइँचो लाग्ने गर्छ। रासस

प्रकाशित: २३ कार्तिक २०८२ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App