लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा २३औँ राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरिएको छ। ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भर वृद्धि’ भन्ने नारासहित आयोजित कार्यक्रममा यस वर्ष प्रविधिमैत्री खेतीलाई प्राथमिकता दिँदै मेशिनबाट धान रोपाइँ गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कपिलवस्तु तथा कृषि ज्ञान केन्द्रको आयोजनामा मायादेवी गाउँपालिका–डुमरामा आयोजित कार्यक्रममा स्थानीय कृषक विष्णु पाण्डेयको खेतमा मेशिनमार्फत धान रोपाइँ गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी तथा कार्यान्वयन इकाइ प्रमुख राकेश ओझालगायतले मेशिनबाट धान रोपेर कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख आचार्यले खाद्यान्नमा बढ्दो परनिर्भरताप्रति चिन्ता व्यक्त गर्दै कृषि क्षेत्रलाई समयमै व्यवस्थित नगरे उत्पादनमा थप गिरावट आउन सक्ने बताए।
उनले श्रमशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढ्नु, मल र सिँचाइको अभावजस्ता कारणले धानसहितका अन्नबाली उत्पादन प्रभावित भएको उल्लेख गर्दै परम्परागत खेतीबाट आधुनिक र व्यावसायिक खेतीतर्फ उन्मुख हुनुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उपकरण र आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन लागत घटाउँदै कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राखे।
उनले भने, ‘अन्न भण्डारको रूपमा परिचित जिल्लाको प्रमुख बाली धानको उत्पादकत्व अझै बढाउन प्रविधि विस्तार आवश्यक छ।’
कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख राकेश ओझाले सिँचाइ अभाव भइरहेका क्षेत्रमा यान्त्रिकीकरण र उन्नत बीउबिजनको प्रयोग अपरिहार्य भएको बताए।
यस अवसरमा मायादेवी गाउँपालिका–६ का वडाध्यक्ष सन्दीप चौधरीले सरकारले धानको मूल्य निर्धारण मात्रै नगरी किसानले उत्पादन गरेको धान खरिदको पनि जिम्मेवारी लिनुपर्ने माग गरे।
उनले भने, ‘सिँचाइ, मल र सहुलियतपूर्ण ऋणको व्यवस्था भए मात्रै किसानले खेतीबाट वास्तविक लाभ लिन सक्छन्।’
कार्यक्रममा सहभागी अतिथिलाई स्थानीय कृषकले दही–चिउरा खुवाएर स्वागत गरेका थिए।
स्थानीय कृषक विष्णु पाण्डेयले यस्ता कार्यक्रमले उत्साह बढाए पनि किसानले भोगिरहेका आधारभूत समस्या भने उस्तै रहेको गुनासो गरे।
उनले भने, ‘मल र सिँचाइको सुविधा नहुँदा अझै आकाशे पानीको भर पर्नुपरेको छ। खेतीमा आधुनिकीकरण पुगेको छैन। कृषि र कृषकका पक्षमा नारा धेरै छन्, तर दिगो विकासका लागि ठोस काम कम देखिन्छ।’
मल र सिँचाइ अभावबीच कपिलवस्तुमा ५ प्रतिशत मात्रै रोपाइँ
यस वर्ष सिँचाइ र रासायनिक मलको अभावका कारण कपिलवस्तुमा मध्य असारसम्म रोपाइँ निकै सुस्त देखिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार सोमबारसम्म जिल्लामा करिब ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले वर्षा अभावका कारण रोपाइँ प्रभावित भएको बताए।
उनले भने, ‘आज वर्षा भएकाले अब रोपाइँले गति लिने अपेक्षा गरेका छौं।’
कृषकहरूका अनुसार यस वर्ष पनि मल, उन्नत बीउ र सिँचाइको समस्या उस्तै छ।
स्थानीय कृषक राका यादवले सरकारी घोषणाअनुसार मल र उन्नत बीउ सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो गरे।
उनले भने, ‘सरकारले मल र बीउ दिने भने पनि किसानले अझै सहज रूपमा पाएका छैनन्। सहुलियतको मल धेरैजसो सहकारीमै सीमित हुने गरेको छ।’
कृषि ज्ञान केन्द्रका अनुसार लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। त्यसमध्ये कपिलवस्तुमा मात्रै ६६ हजार २ सय ६५ हेक्टरमा धान खेती हुने गरेको छ।
प्रति हेक्टर करिब ४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा राधा–४, सावित्री, सावा, मनसुली, कालानमकलगायतका धानका जात खेती हुँदै आएका छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीका अनुसार सुख्खापन, उत्पादन लागतअनुसार मूल्य नपाउनु तथा आवश्यक कृषि सामग्रीको अभावका कारण धान उत्पादन अपेक्षाअनुसार बढ्न सकेको छैन।
उनले भने, ‘आधुनिक प्रविधि, उन्नत बीउ, मल र सिँचाइको पहुँच नबढाई उत्पादन वृद्धि सम्भव छैन। निर्वाहमुखीभन्दा व्यावसायिक खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्छ।’
प्रकाशित: १५ असार २०८३ २०:४० सोमबार





