झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ।
स्थानीय तहअनुसार सबैभन्दा कम गौरीगञ्ज गाउँपालिका मा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिका मा ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र गतिमा भइरहेको र आगामी हप्ताभित्र जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।
झापामा कूल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो। धान उत्पादनका हिसाबले झापा देशकै प्रमुख जिल्लामध्ये एक मानिन्छ। यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोपाइँ गर्न पाएका छन्।
प्रकाशित: १९ श्रावण २०८३ ११:३२ मंगलबार





