सप्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा ओसारपसार भइरहेको अवस्थामा ३ हजार ३३२ दशमलव ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनमा लुकाइछिपाइ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीमा उक्त परिमाणको गाँजा फेला परेको हो। घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू भने फरार भएका छन्।
बरामद गाँजामध्ये बा प्र ०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा राखिएको ५२३ दशमलव ६४० किलोग्राम गाँजा फेला परेको छ। त्यसैगरी प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८ दशमलव ११० किलोग्राम गाँजा बरामद गरिएको छ।
यस्तै बा प्र ०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा राखिएको १ हजार १७० दशमलव ७१० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ १४:५९ बिहीबार





