९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

उराँव समुदायले मनाए सरहुल पर्व

सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका उराँव समुदायले आज सरहुल पर्व मनाएका छन्।

इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, गढीलगायतका स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले सरहुल पर्व मनाएका हुन्।

प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायका मानिसले इनरुवा–८ मा सामूहिक भेला भएर आफ्नो धार्मिक परम्पराअनुसार सरना स्थलमा सरहुल पर्व मनाएको उराँव समुदायका अगुवा रामकिसुन उराँवले जानकारी दिए।

उनले यो पर्व आफ्नो समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रकृति पर्वका रूपमा रहेको बताए। चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गरेको उनले जानकारी दिए।

पर्वका अवसरमा साल र करमको रूख अर्थात् सरना स्थलमा भेला भई पूजा गरेर यो पर्व मनाउने गरिएको छ। नयाँ फूल आउनुलाई नयाँ वर्षको सुरुआतका रूपमा लिई यो पर्वलाई मनाउने प्रचलन छ।

नयाँ फलफूल भएका बेलामा कुलदेवतालाई प्रसादका रूपमा अर्पण गरेपछि मात्र नयाँ फसल वा फलफूलको प्रयोग सुरु गर्ने गरेको उराँव समुदायका अगुवाले बताएका छन्।

पूजाका क्रममा धर्मगुरुले पृथ्वी, जङ्गल, पानी र पूर्वज देवताप्रति कृतज्ञता व्यक्त गर्दै समुदायको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।

सहभागीले पारम्परिक वेशभूषा लगाएर पूजापाठ गरेका थिए।

प्रकाशित: ७ चैत्र २०८२ १९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App